
वासिंटन, मंसिर २८ । अमेरिकी संसद ‘सिनेट’ले यमनमा साउदी अरबको गठबन्धन सेनाले गरिरहेको सैन्य कारबाहीका लागि अमेरिकी सहयोग बन्द गर्ने निर्णय गरेको छ ।
पत्रकार जमाल खसोग्जीको हत्यामा साउदी अरबका युवराज मोहम्मद बिल सलमान जिम्मेवार रहेको भन्दै अमेरिकी संसदले सहयोग बन्द गर्न सरकारलाई निर्देशन दिएको हो ।
राष्ट्रपति डोनल्ड ट्रम्पको पार्टी रिपब्लिकनकै केही सिनेटरले सहयोग रोक्का गर्ने पक्षमा मत दिएपछि यससम्बन्धी प्रस्ताव सिनेटमा ५६–४१ ले पारित भएको हो । यो प्रस्ताव यमनको युद्धमा अमेरिकी विचारधाराको रुपमा हेरिएको छ । तर, यो कानुन बन्ने सम्भावना भने नदेखिएको टिप्पणी विश्लेषकहरुले गरेका छन् ।
यस्तै, सिनेटले गत अक्टोबरमा टर्कीको इस्तानबुलस्थित साउदी कन्सुलर कार्यालयमा भएको पत्रकार खशोग्जीको हत्यामा साउदी युवराजको संलग्नता रहेको भन्नेसम्बन्धी संकल्प प्रस्ताव सर्वसम्मत रुपमा पारित गरेको छ ।
साउदी पत्रकार खशोग्जीको हत्याको विषयलाई लिएर ट्रम्प प्रशासन र कंग्रेसबीच तनाव जारी रहेका बेला यो प्रस्ताव सिनेटबाट पारित भएको हो । सिनेटमा यो प्रस्ताव पारित भएसँगै अमेरिकी राष्ट्रपति ट्रम्पलाई ठूलो झट्का लागेको छ ।
खशोग्जीको हत्यामा साउदी राजकुमारको प्रत्यक्ष संलग्नता रहेको विभिन्न अनुसन्धानले देखाउँदै आएको छ । तर अमेरिकी राष्ट्रपति ट्रम्पले साउदी अरेबिया अमेरिकाको असल मित्रको रुपमा रहेकाले राजकुमारमाथि आरोप लगाउन नमिल्ने तर्क राख्दै आएका छन् । (एजेन्सी)
प्रतिक्रिया दिनुहोस्