योगेश भट्टराईको निर्वाचन खर्च १७ लाख १७ हजार

निर्वाचन प्रतिनिधि चित्रगुप्त साँवामार्फत् जिल्ला निर्वाचन कार्यालय ताप्लेजुङमा बुझाइएको निर्वाचन खर्च विवरणमा उनको १७ लाख १७ हजार ५०० रुपैयाँ खर्च भएको उल्लेख गरिएको छ ।
जसमा सबैभन्दा बढी गोष्ठी र कार्यकर्ता परिचालनमा खर्च भएको देखिएको छ । त्यसपछि कार्यालय सन्चालनमा खर्च भएको देखिएको छ ।
गोष्ठी र कार्यकर्ता परीचालनमा ६ लाख र कार्यालय सन्चालनमा ३ लाख ५० हजार खर्च भएको विवरण निर्वाचन कार्यालयमा बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
त्यसपछि सवारी–साधनमा ३ लाख, प्रतिनिधि परिचालनमा १ लाख ४० हजार खर्च भएको विवरणमा उल्लेख गरिएको छ । अरु खर्च लाखभन्दा कम देखिएको छ ।
उनको खर्च विवरण पुस २० गते बुझाइएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।
उनका प्रतिद्वन्द्वी नेपाली कांग्रेसका उम्मेदवार केशवप्रसाद दाहालको खर्चभन्दा भट्टराईको खर्च करिब दुई लाखले बढी देखिएको छ ।
दाहालले निर्वाचन कार्यालयमा बुझाएको खर्च विवरणअनुसार उनको १५ लाख ९३ हजार रुपैयाँ निर्वाचनकाक्रममा खर्च भएको छ ।
दाहालले बुझाएको विवरणअनुसार दाहालको पनि गोष्ठी र कार्यकर्ता परिचालनमा ६ लाख ५० हजार, कार्यालय सन्चालनमा ३ लाख ५० हजार र सवारी–साधनमा २ लाख ५० हजार, प्रतिनिधि परिचालनमा १ लाख १५ हजार खर्च भएको छ । अरु खर्च लाखभन्दा कम रहेको छ ।
दाहालले भने पुस २३ गते खर्च विवरण बुझाएका थिए ।
निर्वाचन आयोगले प्रतिनिधिसभाका प्रत्यक्षतर्फका एक उम्मेदवारले अधिकतम् २५ लाख तथा समानुपातिक उम्मेदवारले अधिकतम् २ लाखसम्म खर्च गर्न पाउने गरी उम्मेदवार खर्चसीमा निर्धारण गरेको थियो ।
यस्तै, प्रदेशसभाका प्रत्यक्षतर्फका एक उम्मेदवारले अधिकतम् १५ लाख तथा समानुपातिक उम्मेदवारले अधिकतम् १ लाख ५० हजारसम्म खर्च गर्न पाउने व्यवस्था आयोगले गरेको छ ।