
काठमाडौं, मंसिर २८ । संकटा क्लव शहीद स्मारक ए डिभिजन लिग फुटबलको दोस्रो स्थानमा पुगेको छ । आठौं चरणको खेलमा हिमालयन शेर्पा क्लवमाथि २–० को स्पष्ट जितसहित संकटा दोस्रो स्थानमा पुगेको हो । एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा संकटालाई जिताउन सेड्रिक अबा र दिपेश आले मगरले एक–एक गोल गरे ।
हिजै भएको अर्को खेलमा जावलाखेल युथ क्लबले सशस्त्र प्रहरीको एपिएफ टिमलाई १–० ले पराजित गर्यो । जावलाखेलका अडाम डम्बियाले खेलको ४९ औं मिनेटमा निर्णायक गोल गरेका थिए ।
हिजै भएको अर्को खेलमा सरस्वती युथ क्लबले न्यूरोड टिम (एनआरटी)लाई १–० ले हरायो । सरस्वतीलाई जिताउन अफ्रिकी खेलाडी भिक्टर अमोबेले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।
लिगको अंक तालिकामा ८ खेलबाट २१ अंक बटुलेको संकटा क्लव दोस्रो स्थानमा उक्लिएको छ । एक खेल कम खेलेको मनाङ मर्स्याङ्दी क्लब शीर्ष स्थानमा छ । ७ खेलबाट १८ अंक जोडेको थ्रीस्टार तेस्रो, १७ अंकको अपराजित टिम त्रिभुवन आर्मी चौथो तथा ११ अंकको नेपाल पुलिस क्लव पाँचौं स्थानमै छ ।
ए डिभिजन लिग फुटबलमा आज दुई खेल हुनेछन् । बिहान ११ बजे पुलिसले फ्रेन्ड्ससँग खेल्दा दिउँसो साढे २ बजे मनाङले आर्मीसँग खेल्नेछ । यो खेलमा हुने जितहारले एक टिमको अपराजित यात्रा टुंगिने छ ।
प्रतिक्रिया दिनुहोस्