राष्ट्रिय सभा निर्वाचन: पुस २९ गते सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलिने • Image Khabar Image Khabar


राष्ट्रिय सभा निर्वाचन: पुस २९ गते सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलिने


Imagekhabar
२७ पुष २०७४, बिहीबार १७:३५

राष्ट्रिय सभा निर्वाचन: पुस २९ गते सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलिने

पुस २७ गते निर्वाचन अधिकृत तोकेर तयारीमा जुटेको आयोग पुस २९ गते सातै प्रदेशमा निर्वाचन अधिकृतको कार्यालय खोलेर निर्वाचन कार्यक्रमलाई गति दिने तयारीमा छ ।

सात प्रदेशको उच्च अदालत रहेको जिल्लामा निर्वाचन अधिकृतको कार्यालय खोली मतदाता नामावली प्रकाशन, मनोनयन दर्ता र मत गणनाको समेत काम त्यहीँ गर्ने गरी आयोगले तयारी अघि बढाएको छ ।

राष्ट्रियसभा सदस्यको निर्वाचनका लागि २ हजार ५६ जना मतदाता रहेका छन् ।

जसमा प्रदेशसभा सदस्य ५ सय ५० जना र स्थानीय तहतर्फ महानगरपालिका, नगरपालिका र गाउंपालिका प्रमुख तथा उपप्रमुखहरु गरी १५ सय ६ जना रहने छन् ।

मतदाता नामावली सहित निर्वाचन कार्यतालिका बनाएर निर्वाचनको तयारीमा जुटेको निर्वाचन आयोगका प्रवक्ता नवराज ढकाल बताउँछन् ।

राष्ट्रियसभा सदस्य निर्वाचनका लागि माघ १० गते उच्च अदालत रहेका सातै प्रदेशको केन्द्रमा मनोनयन दर्ता हुनेछ ।

राष्ट्रियसभा सदस्यमा मनोनयन दर्ता गर्न यी २ हजार ५६ र प्रतिनिधि सभा तथा प्रदेशसभाको समानुपातिको सूचीमा कायम रहेका बाहेक निर्वाचन आयोगको मतदाता नामावलीमा नाम रहेका जो कोहीले पनि उम्मेदवारी दर्ता गराउन सक्ने व्यवस्था गरिएको छ ।

आयोगका प्रवक्ता ढकाल मतदाता रहेका जोसुकैले पनि राष्ट्रियसभामा मनोनयन गर्न सक्ने बताउँछन् ।

लामो समयको रस्साकस्सीबीच एकल संक्रमणीय र बहुमतीय दुवै प्रणाली अनुसार हुन लागेको यो निर्वाचनले नयाँ सरकार निर्माणको ढोका खोल्नेभएकोले पनि अझ बढी चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुहोस्