१९ असार २०८२, बिहिबार | Thu Jul 3 2025


कांग्रेसका जिल्ला सभापतिहरुको भेला बोलाउन माग


0
Shares

बुधबार र बिहीबार सिन्धुपाल्चोकको मेलम्चीमा आयोजित दुई दिने उपलब्ध जिल्ला सभापतीहरुको भेलाले पार्टी नेतृत्वलाई जिल्ला सभापतिहरुको राष्ट्रिय भेला बोलाउन आग्रह गरेको हो ।

मुगुका पार्टी सभापति खड्गबहादुर शाहीले स्थानीय तह निर्वाचनदेखि जिल्ला सभापतिहरुको अधिकार केन्द्रिय तहबाट खोसिएको भन्दै जिल्ला सभापतिहरुको भेला बोलाएर आन्तरिक समिक्षा गर्न केन्द्रिय नेतृत्वसँग आग्रह गरिएको जानकारी दिए ।

‘स्थानीय तह देखि नै केन्द्रिय नेतृत्वले जिल्लाको अधिकार खोसेर आफु अनुकुल निर्णय गरेको हामीले महसुस गरेका छौं, सोही निर्णयले गर्दा आज पार्टीले निर्वाचनमा यो परिणाम भोग्नु पर्यो,’ शाहीले भने,‘अब जिल्ला सभापतिहरुको भेला बोलाएर समिक्षा हुनु पर्छ ।,’

भेलाले १३ सदस्सीय राष्ट्रिय भेला समन्वय समिति समेत गठन गरेको छ । प्रत्येक प्रदेश बाट एक एक जना सदस्य रहने गरी सात जना र बाँकी अन्य जिल्लाका जिल्ला सभापति रहने गरी समिति गठन गरिएको शाहीले जानकारी दिए ।

बैठकमा सहभागी बर्दियाका पार्टी सभापति एवम सिंचाइ मन्त्री संजय गौतमले कांग्रेस कमजोर हुदै गरेको अवस्थामा लोकतन्त्र माथि समेत खतरा रहने भन्दै जिल्ला सभापतिहरु समेतको सहभगितामा निर्वाचनको परिणामका बारे छलफल हुनु पर्ने बताए ।

उनले निर्वाचनका समयमा टिकट वितरण गर्दा नेतृत्वबाट मनोमानी भएको र राष्ट्रिय मुद्धाका विभिन्न विषयमा पार्टी नेतृत्वले विगतमा सही निर्णय गर्न नसक्दा पार्टी कमजोर बनेको भन्दै जिल्लाका सभापतिहरु समेत कही कमजोर रहेको भए बैठकबाटै समीक्षा गर्न माग गरे । केन्द्रिय नेतृत्वले बैठक आह्वान नगरे जिल्ला सभापतिहरुले नै बैठक बोलाउने उनले बताए ।

भेलाले पार्टी सुदृढीकरणका लागि जिल्ला सभापतिहरु एक भएर अघि बढ्ने समेत निर्णय गरेको छ ।

यस्तै विभिन्न २२ जिल्लालाई दुर्गम क्षेत्र विकास समितिमा राख्न समेत सरकारसँग माग गरेको छ भने कर्णाली सहितका ९ जिल्लालाई पिछडिएको क्षेत्रमा कायम राख्न सरकारसँग माग गरेको छ ।

भेलामा शाही, गौतम र रुपन्देहीका सभापति तथा खानेपानी राज्यमन्त्री अब्दुल रज्जाक सहित १९ जिल्लाका जिल्ला सभापतिहरु सहभागी थिए ।