पर्यटकीय सम्भावना बोकेको पताल भुमेश्वर क्षेत्र सम्वर्द्धनमा प्रवासी युवा जुटे • Image Khabar Image Khabar


पर्यटकीय सम्भावना बोकेको पताल भुमेश्वर क्षेत्र सम्वर्द्धनमा प्रवासी युवा जुटे


Imagekhabar
२८ पुष २०७४, शुक्रबार १०:२५

पर्यटकीय सम्भावना बोकेको पताल भुमेश्वर क्षेत्र सम्वर्द्धनमा प्रवासी युवा जुटे

सुर्नया गाउँपालिका–२ बाशुलिङ्गमा अवस्थित धार्मिक तथा प्राकृतिक पर्यटनको पर्याप्त सम्भावना बोकेकोे गुफा, तलाउ र मन्दिर रहेको पताल भुमेश्वर आवश्यक प्रचारप्रसारको अभावमा ओझेलमा परेको हो । यसका साथै सोही क्षेत्रमा अवस्थित नेपालकै गहिरो पतालभुमेश्वर गुफासमेत सम्वन्धित निकायले खासै ध्यान नदिँदा ओझेलमा परेको स्थानीयवासी बताउँछन् ।

पताल भुमेश्वरको महिमा

करिब तीन सय बर्ष पहिलादेखि पताल भुमेश्वरमा देवीदेवताको महिमा सुरु भएको स्थानीय बुढापाका बताउँछन् । हिन्दु धर्मालम्बीहरुका आराध्यदेव शिव भगवान आफ्नी आर्धाङ्गिनी पार्वतीसँगको बिछोडका बेला संसारका विभिन्न ठाउँ घुम्दै पताल भुमेश्वरमा पनि पाईला टेकेका भन्ने जनविश्वास रहेको पताल भुमेश्वर मन्दिर व्यवस्थापन समितिका अध्यक्ष राजेन्द्र विष्टले बताए ।

उनले भने, ‘महादेवले सतीदेवीको मृत शरीर बोकेर हिँड्दा सो क्षेत्रमा पाइताला पतन भएको किम्बदन्ती छ ।’

पताल भुमेश्वर क्षेत्रमा देवद्वार, धर्मद्वार, मोक्षद्वार र पापद्वार गरी चार गुफा छन् । पताल भुमेश्वर स्वस्थानी व्रतकथासँग समेत सम्बन्धित रहेको स्थानीय बासिन्दाको विश्वास छ । धुम्दै आएका शिव थाकेपछि पताल भुमेश्वरमा बिश्राम लिंदा त्रिशुल गाडेको ठाउँमा गुफा भएको जनविश्वास छ ।

यसका साथै परापूर्वकालमा स्थानीय विष्ट परिवारले गोठाला गएका बेला दिनहँु एउटा गाई एक स्थान गएर आफै दुहिने गरेको र सो ठाउँमा गएर हेर्दा शिवलिङ्ग भेटिएपछि महादेवको मन्दिर बनाइएको किम्बदन्ती पनि छ ।

मन्दिर र तलाउको चारैतर्फ चारओटा गुफा भएको यस ठाउँमा शिव भगवानले लामो समय बिश्राम लिएको यो भूमी पवित्र रहेको र यहाँ दर्शन गर्न आउने भक्तजनहरुको मनोकांक्षा पुरा हुने जनविश्वास रहिआएको छ ।

पर्यटकीय सम्भावना बोकेको पताल भुमेश्वर क्षेत्र सम्वर्द्धनमा प्रवासी युवा जुटे

धार्मिक महत्व बोकेको पत्ताल भुमेश्वरमा महादेवको मन्दिर छ । मन्दिरको छेउमा तलाऊ पनि छ । यस क्षेत्रको मुख्य हेर्नलायक पत्ताल भुमेश्वर गुफा हो । प्राकृतिक सौन्दर्यले भरिपुर्ण, पत्ताल भुमेश्वर चारैतिर डाँडाकाँडा, मनमोहक दृष्य छन् । हरेक पर्वहरुमा पुजाआजा गरिने पताल भुमेश्वर मन्दिरमा महाशिवरात्री र रामनवमीमा विशाल मेला लाग्ने गर्दछ । यो क्षेत्र विवाह बन्धनमा बाँधिने गन्तब्यका रुपमा समेत चिनिने गर्दछ । पत्ताल भुमेश्वरको दर्शन गरेका मनोकामना पुर्ण हुने जनविश्वास छ ।

स्थानीय मन्धिरे नामका महात्मा दुई दशक अगाडीदेखि पताल भुमेश्वर मन्दिरमा बस्दै आएका थिए । उनकै पहलमा शिव मन्दिर निर्माण गरिएको हो । यस क्षेत्रको रेखदेख गर्दै आएका महात्माको एक दशक अगाडी मृत्यु भएपछि पताल भुमेश्वर गुफा, तलाउ र मन्दिरको रेखदेख गर्ने कोही नभएपछि अलपत्र परेको छ ।

‘पर्यटक भित्र्याउन सरकारी तथा गैरसरकारी संघ संस्था, व्यक्ति तथा समाजबाट सहयोग याचना गरिरहेका छौं,’ मन्दिर व्यवस्थापन समितिका अध्यक्ष विष्टले भने, ‘यसको प्रचारप्रसार गर्न सक्यो भने विश्व सम्पदा सुचीमा पर्न सक्छ ।’

पताल भुमेश्वर ४ सय हेक्टर वन क्षेत्रमा फैलिएको छ ।

नेपालकै गहिरो गुफा

यहाँ प्राचीनकालदेखिको एउटा ठूलो गुफा छ । जुन गुफाको अन्तिम बिन्दुमा दुधको धारा रहेको जनविश्वास छ । बैतडीस्थित पताल भुमेश्वर गुफा नेपालकै सबैभन्दा गहिरो गुफा रहेको अध्ययनकर्ताहरुको दाबी छ । केही बर्ष अगाडी इन्टरनेसनल सेन्टर फर दि एक्सप्लोरेसन अफ दि हिमालयजका अध्यक्ष तथा फ्रान्सेली गुफा विशेषज्ञ मोरिस दुसेन नेतृत्वको टोलीले गरेको प्रारम्भिक अध्ययनका अनुसार आठ सय मिटरसम्मको अध्ययन गर्दा पताल भुमेश्वर गुफाको गहिराई १६० मिटर रहेको पत्ता लागेको जानकारी दिइयो । आठ सय मिटरभन्दा पर गुफा निकै साँघुरो भएकाले उद्धार टोलीको व्यवस्था नहुँदा गुफाको थप अध्ययन नगरी टोली फर्किएको थियोे ।

यसअघि तनहुँको बन्दिपुरस्थित ६५ मिटर गहिराइको सिद्ध गुफालाई नेपालको सबैभन्दा ठूलो र गहिरो गुफाको रुपमा मानिदै आएको थियो । दुसेनको अध्ययन टोलीले पताल भुमेश्वर गुफाको थप अध्ययन गरी गुफाको भित्री स्वरुप झल्कने ‘टोपोग्राफी म्याप’ समेत तयार पार्ने योजना रहेको बताएको थियो । संसारका एक हजार तीन सय गुफा घुमिसकेका दुसेनले पर्यटन प्रवर्द्धन केन्द्रको पहलमा पताल भुमेश्वरको अध्ययन सुरु गरेका हुन् ।

गुफाभित्र पस्नुअघि शुद्ध हुनुपर्ने र महादेवलाई धूपबत्ती गरेपछिमात्र भित्र प्रवेश गर्न पाइने परम्परा छ । गुफा नजिकैको पहाडबाट पूर्व र उत्तरी दिशातर्फ मनोरम हिमालको दृष्यावलोकन समेत गर्न सकिने पर्यटन व्यवसायीहरु बताउँछन् । गुफाको मुख्यद्वारबाट भित्र पसेपछि केही ओरालो हिड्नुपर्छ । त्यसपछि फराकिलो ठाउँमा गुफा–चौराहा (चारओटा बाटो) आउँछ । जसमध्ये पूर्व तर्फको फराकिलो बाटो हिडेर पानीको धारा हेर्न सकिन्छ । भित्र पस्दै चट्टानले बनेका विभिन्न आकर्षक बस्तुहरुको अवलोकन गर्न सकिन्छ ।

पताल भुमेश्वरको मुख्य आकर्षण भनेको सदाबहार जंगलको बीचमा रहेको तलाउ र गुफा हो । बैतडीकै उच्च स्थानमा अवस्थित पताल भुमेश्वर एक तीर्थस्थल पनि हो । यस ठाउँमा रहेको तलाउँको पानी एकचोटी शीरमा चढाउनै पर्ने र यसो गरेमा पवित्र भईन्छ भन्ने जनविश्वास रहिआएको छ ।

यस क्षेत्रको प्राकृतिक सुन्दरता र धार्मिक महिमा देशभर फैलाउन सके पर्यटनको राम्रो गन्तव्यस्थल हुन सक्ने भए पनि प्रचारप्रसार हुन सकेको छैन ।

पताल भुमेश्वर वरवरको वन क्षेत्रमा बेवारिसे अवस्थामा छोडिने चौपायाहरु जथाभावी तलाउमा पस्दा पानी फोहोर हुँदै गएको स्थानीय तिलक विष्टको भनाइ छ । उनले भने, ‘भक्तजनहरुले लगेका प्लाष्टिकका पोलिथिनहरु जताततै फाल्ने गर्नाले वातावरण फोहोर बन्दै गएको छ ।’

केही समय अगाडी तत्कालिन जिल्ला विकास समिति बैतडीले पत्ताल भुमेश्वर गुफाभित्र ७५ मिटरसम्म विद्युतीकरण गरेको भए पनि संरक्षण र सम्बर्द्धन गर्ने कोही नभएर विद्युतीकरण गरिएको तार चोरी हुनका साथै जीर्ण बन्द गएका छन् ।

पर्यटनको सम्भावना धेरै

पर्यटकीय सम्भावना बोकेको पताल भुमेश्वर क्षेत्र सम्वर्द्धनमा प्रवासी युवा जुटे

उत्तरपट्टि लहरै मिलेको अपि सैपाल हिमश्रृङखलाको नजिकबाट अवलोकन गर्न सकिने पताल भुमेश्वरमा लालिगुँरासको घना जंगल समेत रहेकाले फागुन, चैतमा राताम्मे दृष्य मनमोहक बन्ने गर्दछ । त्यस्तै स्थानीय प्राकृतिक फलका रुपमा पाईने काफल बैशाख–जेठ देखि असार सम्म रुखबाट ताजै टिपेर खान मिल्ने यो क्षेत्रलाई प्रचार प्रसारमा ल्याउन सके आन्तरिक र बाह्य पर्यटनको ठुलो सम्भावना रहेको स्थानीय युवा कपिल केसीको भनाइ छ ।

दशरथचन्द राजमार्गको सतबाँझ–पाटन सडकखण्डमा पर्ने उच्च भूभागमा रहेको पताल भुमेश्वर प्राकृतिक सुन्दरता, नेपालकै गहिरो गुफा, तलाउ र शिव मन्दिरका लागि प्रसिद्ध मानिन्छ । बैतडी सदरमुकामबाट १८ किलोमिटर पुर्वमा पर्ने सिउडेबाट २० मिनेट उक्लेपछि प्राकृतिक सुन्दरताले भरिएको स्थल पताल भुमेश्वर पुगिन्छ ।

सिमावर्ती झुलाघाट नाकाबाट यातायात सञ्चालन र पाटन विमानस्थललाई सुचारु गर्न सके आन्तरिक तथा बाह्य पर्यटक भित्रिने देखिन्छ । यहाँको धार्मिक महत्वका साथै यस क्षेत्रको प्राकृतिक आकर्षणबारे प्रचारप्रसारमा जोड दिने हो र त्यसै अनुरुप भौतिक पूर्वाधारको विकास गर्दै लाने हो भने बैतडीको पताल भुमेश्वर र यसै वरपर रहेका ग्वाल्लेक केदार, रौलेश्वर, त्रिपुरासुन्दरी, निङ्गलाशैनी, सिगास धुरा, दोगडा धाम, मेलौली भगवतीलगायतका स्थल पर्यटकीय गन्तव्यस्थल हुनेमा दुईमत छैन ।

पताल भुमेश्वर विकासका लागि प्रवासी युवा जुटे

प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पताल भुमेश्वरको विकासका लागि प्रवासमा रहेका बैतडीका युवाहरु जुटेका छन् । रोजगारीको सिलििलामा देशबाहिर रहेका बैतडीका युवाहरुले प्रसिद्ध धार्मिक तथा पर्यटकीय स्थल पताल भुमेश्वर क्षेत्रको विकास तथा सम्वर्द्धनका लागि सामाजिक सञ्जालमार्फत रु ३ लाख बढी रकम संकलन गरेका छन् ।

मलेसिया, कतार तथा भारतमा रहेका युवाले गत मंसिर १५ गतेदेखि पताल भुमेश्वर युवा जागरण मञ्च प्रवासको अनलाईन अभियान नाम दिएर उक्त रकम संकलन गरेको उक्त अभियानका सह–कोषाध्यक्ष वीरबहादुर विष्टले बताए । संकलित रकमले पताल भुमेश्वरको प्रवेशद्वारमा मुलगेट र अन्य विकासका लागि खर्च गरिने उनले जनाए ।

‘पताल भुमेश्वर क्षेत्रको विकास गरी आन्तरिक तथा बाह्य पर्यटक भित्र्याएर पर्यटकीय हव बनाउन हामी जुटेका छौं,’ उनले भने, ‘रोजगारीका लागि प्रवासमा रहेको भए पनि आफ्नो गाउँठाउँको विकासका लागि तथा सामाजिक कार्य गर्न हाम्रो अनलाईन अभियान जारी रहनेछ ।’

प्रतिक्रिया दिनुहोस्