सुदूरपश्चिममा माघे संक्रान्ति भन्दा ‘माघेत्यार’को रौनक • Image Khabar Image Khabar


सुदूरपश्चिममा माघे संक्रान्ति भन्दा ‘माघेत्यार’को रौनक


Imagekhabar
३० पुष २०७४, आईतवार १९:०८

सुदूरपश्चिममा माघे संक्रान्ति भन्दा ‘माघेत्यार’को रौनक

सबैजसो हिन्दुधर्मालम्बीहरुले माघेसंक्रान्ती मनाइरहँदा सुदूरपश्चिममा भने यो पर्वसंगै ‘माघेत्यार’को पनि रौनक छ ।

सुदूरपश्चिममा यो पर्व आफ्नै मौलिकताका साथ मनाईन्छ । बिशेषगरी पहाडी समुदायले यो पर्वलाई ‘माघेत्यार’का नामले मनाउने गर्दछन् ।

यहाँको समुदायमा परम्परागत रुपमा यस पर्वको बिशेष महत्व छ । छुट्टै मौलिकता छ ।

‘त्यार’ डोटेली भाषाको शब्द हो । जसको अर्थ चाडपर्व भन्ने हुन्छ । माघेसंक्रान्तीमा मनाईने भएकाले यसलाई यहाँको समुदायमा ‘माघेत्यार’को नामले सदियौदेखी प्रचलित छ ।

यहाँको समुदायमा पौषको अन्तिम रातको बिशेष महत्व हुन्छ । जसलाई माघ महिनाको स्वागतको रातको रुपमा बुझिन्छ । यसका लागि पौष महिनाभरी नै तयारी गरिएको हुन्छ ।

समुदाय नजिक पर्ने पबित्र नदी, कुण्ड, तलाउ, कुवा वा पधेंरामा ठुल्ठुला काठका मुडाहरु जम्मा गरिएका हुन्छन् । जसलाई ठुलो चाङ लगाएर राखिन्छ ।

पुष अन्तिम रात त्यही नजिकै समुदाय भरिकै मानिसहरु जम्मा भएर ‘जाग्राम’ बस्छन् ।

जहाँ माघेत्यारका लागि पाकेका पकवानहरु बिशेषगरी तरुल, कन्दमूल, तिल, घ्यू, चाकुबाट बनेका परिकारहरु खादै दन्त्यकथा, लोककथा, गाउँखाने कथा सुनाएर रात बिताईने प्रचलन छ । यसबाहेक भजनकिर्तन, लोक देउडा लगायतका खेलहरु खेलिन्छ ।

त्यसपछि बिहान सबेरै त्यही छेउमा रहेको मुडाको चाङमा आगो लगाएर स्नानकर्म गर्दै आगो तापेर जीउ सेक्ने प्रचलन रहीआएको छ ।

यसबाट हिउँदे जाडो भगाउने, बिभिन्न रोगब्याधिहरुको अन्त हुने लगायतको जनविश्वास रहीआएको पाईन्छ ।

यसैक्रममा माघको पहिलो दिन शिबालय तथा देवालयहरुमा दर्शन गर्ने तथा मेला लाग्ने पनि गर्दछन् । पछिल्ला केही बर्षयता पबित्र धाम, नदी तथा कुण्डहरुमा ‘महास्नान’ मेलाहरु समेत आयोजना हुन थालेका छन् ।

यस्तोेमा दिपायलमा रहेको बासुधारा क्षेत्र, डोटीकै शिखर नगरपालिकाको ‘गहनान’(गंगास्नान), डडेल्धुराको परशुरामधाम, कैलालीको गोदावरी क्षेत्रमा यस्ता महास्नान मेलाहरु लाग्ने गरेका छन् ।

माघेसंक्रान्तीमा पबित्र स्थानमा गएर स्नान गर्नाले पुण्यप्राप्ती हुने मान्यता छ । ‘धर्मग्रन्थहरुमा माघ महिनालाई धर्मिक महिना मानिएको छ,’ पण्डित केशबराज ओझा भन्छन्,‘यसैले माघ महिनामा पवित्र तिर्थस्थलमा गएर स्नान गर्दा पुण्यप्राप्ती हुने मान्यता छ । यसमा पनि माघे संक्रान्ती, माघ शुक्लपक्ष द्वादशी र माघ शुक्ल पक्षको पुर्णिमा झन बिशेष मानिन्छ ।’

यसबाहेक माघेत्यारमा बिबाहिता छोरीहरुलाई घरमा बोलाएर मिठो मसिनो खुवाउने प्रचलन छ । माघेसंक्रान्तीकै दिनबाट पुरै माघ महिनाभरी छोरीचेलीहरुलाई भेट्न जाने, उनीहरुलाई कोशेली स्वरुप आमाको हातको पकवानहरु दिने प्रचलन पनि छ ।

यसलाई ठाउँ अनुसार ‘त्यार’, ‘माघेत्यार’ ‘त्यारमाणो’ लगायतका नामले चिनिन्छ । बिशेषगरी यो कोशेली आमाले पकाउने र दाईभाई दिन जाने प्रचलन हुन्छ ।

यसलाई छोरीचेलीको हकको रुपमा पनि लिईन्छ । यसका लागि बिबाहिता छोरीचेली बाटो कुरेर बसेका हुन्छन् ।

माघ एकगतेकै दिनबाट सुर्य उत्तरायण लाग्ने पनि मान्यता छ । माघेसंक्रान्तीको दिनबाट चिसो घट्दै जाने र गर्मीयाम शुरु हुने मान्यता छ ।

बाशुधारामा ‘बृहत महास्नान’ मेला

दिपायलमा रहेको प्रसिद्ध बासुधारा क्षेत्रमा मकरसक्रान्तीको अवसरमा बृहत महास्नान मेला लागिरहेको छ । बासुधारा सिता नदी महास्नान मूल समारोह समितिको आयोजनामा मेला लागिरहेको छ ।

स्कन्ध पुराणको मानस खण्डमा भगवान रामका पूर्बज राजा दिलिप र स्वयं राम, लक्ष्मण, गुरु बशिष्ट, लगायतका देवर्षि, महर्षि, राजर्षि सहित सो क्षेत्रमा स्नान गरेर पुजा अर्चना गरेको जानकारहरु बताउछन् ।

भगवान श्रीरामकै पूर्बज राजा दिलिपको नामबाट नै दिपायलको नामाकरण भएको पनि किंबदन्ती छ ।

यसैले बासुधारा क्षेत्रमा स्नान गर्नाले ठुलो पुण्यप्राप्ति हुने जानकारहरु तर्क गर्छन् ।

‘बासुधारा क्षेत्रको महिना निकै अपरम्पार छ,’ बासुधारा सिता नदी महास्नान समारोह समितिका अध्यक्ष प्रेमशंकर भट्ट भन्छन्,‘भगवान श्रीराम, गुरु बशिष्टले समेत स्नान गरेर पुण्य प्राप्ती गरेको ठाउँमा हामीले सबैले स्नान गर्न सकुन भनेर यो मेलाको आयोजना गरेका छौ ।’

सेती नदी शिखर नगरपालिकामा रहेको प्रसिद्ध धार्मिक स्थल ‘गहनान’बाट उत्तरतर्फ बगेर बाशुधारा क्षेत्रबाट फेरी पूर्बहुदै दक्षिण तर्फ मोडिएको छ । जसलाई पनि धार्मिक संयोगको रुपमा लिईन्छ । ‘यो निकै दुर्लभ संयोग हो ।

गहनानमा दुई नदीको संगमबाट नदी उत्तर बगेको छ । जहाँ ठुलो धार्मिक स्थल छ,’ अध्यक्ष भट्ट भन्छन्,‘यता बाशुधारामा पनि अर्को दोभानबाट नदीले मोहडा बदलेको छ ।

यहाँ पनि बाशुधारा मन्दिर छ । यसको आफ्नै धार्मिक महत्व हुन्छ ।’

सेती नदीको नामपनि भगवान सिताकै नामबाट नामाकरण भएको पनि जानकारहरुको तर्क छ ।

उनीहरुको अनुसार सिता, सरिता हुँदै शब्द अपभ्रंश भएर कालान्तरमा नदीको नाम पनि सेती नै रहेको हो ।

 

 

प्रतिक्रिया दिनुहोस्