रुपन्देही, मंसिर २६ । प्रदेश नम्बर–५ का मुख्यमन्त्री शंकर पोखरेलले सरकार बलियो भए जनता अधिकारसम्पन्न हुने बताएका छन् ।
प्रदेश सरकार र राष्ट्रिय मानवअधिकार आयोगले बुधबार बुटवलमा आयोजना गरेको मौलिक हकको कार्यान्वयनमा प्रदेश सरकार र सांसदको भूमिका विषयक कार्यशाला गोष्ठीमा बोल्दै उनले सरकार सक्षम भएमात्र जनताले अधिकारको प्रत्याभूति गर्ने बताए ।
‘राज्यलाई कमजोर बनाएर परिणाम आउँदैन’–उनले भने–‘मौलिक हकको सुनिश्चितताका लागि सरकारलाई कसरी बलियो बनाउने भन्नेतर्फ सबैले सोचौं ।’
उनले सरकार कमजोर हुँदा संगठित जमातले नागरिकमाथि प्रभुत्व जमाउने र नागरिकका अधिकार कुन्ठित हुने विचार व्यक्त गरे ।
उनले मुलुक विकास र समृद्धिको बाटोमा अगाडि बढेकाले यसलाई मानवअधिकारसँग जोड्न जरुरी रहेको बतबाए ।
विकासको प्रतिफल जनताले पाउन् भन्नकै लागि प्रदेश सरकार लागिरहेको बताउँदै उनले जमिन नभएका कारण श्रम गर्न नपाएका नागरिकका लागि जमिन दिने कार्यक्रम ल्याएको बताए ।
कार्यक्रममा प्रदेशका कानुनमन्त्री कुलप्रसाद केसीले कानुन कार्यान्वयनका लागि प्रदेश सरकार तदारुकताका साथ लागिपर्ने बताए ।
राष्ट्रिय मानवअधिकार आयोगका आयुक्त गोविन्द शर्मा पौडेलले नागरिकका अधिकारका विषयमा तीन तहकै सरकार गम्भीर हुनुपर्ने धारणा राखे ।
कार्यक्रममा अधिवक्ताद्वय मोहनलाल बज्राचार्य र तेजप्रसाद कँडेलले कार्यपत्र प्रस्तुत् गरेका थिए । रासस








प्रतिक्रिया दिनुहोस्