काठमाडौं, मंसिर २६ । प्रदेश नम्बर–३ का मुख्यमन्त्री डोरमणि पौडेलले उक्त प्रदेशको राजधानी तत्काल नतोकिने बताएका छन् ।
रिपोर्टर्स क्लबले बुधबार राजधानीमा आयोजना गरेको साक्षात्कारमा मुख्यमन्त्री पौडेलले अहिले नयाँ स्थानमा राजधानी तोक्दा भौतिक संरचना तयार पार्नकै लागि समय खेर जाने बताउँदै एक वर्षअगाडि राजधानी परिवर्तन नगरिने र आगामी पुसभित्रै प्रदेशको नामाकरण गरिने बताए ।
उनले भने–‘करिब १० महिनाको अवधिमा हामीले सारा संरचना तयार गरेका छौं । १३ ओटै जिल्लामा हाम्रा कार्यालय स्थापना भइसकेका छन् । डिभिजन कार्यालय सबै बनिसकेका छन् । हामीलाई कानुनको अभाव थियो । हामीलाई टेक्ने ठाउँ थिएन । कानुन थिएनन् । कानुन नबनाइकन अगाडि बढ्ने हामीसँग कुनै आधार थिएन । त्यसैले हामीले कानुन बनाउनका लागि प्राथमिकता दिएका थियौं’–उनले भने ।
मुख्यमन्त्री पौडेलले आफूहरुको अब केन्द्रीय सरकारसँग मुख्य माग भनेको नै केन्द्रीय सरकारले बनाउनुपर्ने कानुन छिटो बनाउन आग्रह गर्दै उनले भने–‘हामीले २५/२६ ओटा कानुन बनाइसक्यौं । त्यो प्रमाणित पनि भइसकेको छ । त्यसैले अब काम गर्नका लागि धेरै समस्या हामीलाई छैन ।’
साझा अधिकारका केही कानुन पहिला केन्द्रले बनाउनुपर्नेमा जोड दिँदै उनले अहिले प्रदेश प्रहरी ऐन, भूमिसम्बन्धी ऐनलगायत केही कानुन केन्द्रले बनाउनुपर्ने बताए ।
कानुनको समस्याले गर्दा कर्मचारी भर्ना गर्न नपाइएका र करारमा पनि कर्मचारी राख्न पाउने व्यवस्था नभएका कारण कार्यसम्पादनमा ढिलासुस्ती भएको स्वीकार्दै उनले भने–‘सबै जिल्लामा कार्यालय गठन गरेर काम सन्चालन गर्यौं । आवश्यक संरचना निर्माण भइसकेका छन् । १३ ओटै जिल्लामा विकास निर्माणका काम सुरु भइसकेका छन् ।’
उनले हालै काठमाडौंमा सम्पन्न अन्तरप्रदेश परिषदको बैठकमा सातओटै प्रदेशका मुख्यमन्त्रीले साझा समस्या प्रधानमन्त्रीसँग राखेको जानकारी गराए । रासस








प्रतिक्रिया दिनुहोस्