Logo २९ भाद्र २०८३, सोमबार | Mon Sep 14 2026


सोलुखुम्बुको १४ वडामा अझै स्वास्थ्य बीमाको कार्यक्रम शुरु हुन सकेन


0
Shares

आठ स्थानीय तहका ३८ वडामा भने उत्साहजनक रुपमा स्वास्थ्य बीमा भईरहेको दर्ता अधिकारी प्रदिपबाबु बस्नेतले जानकारी दिए । दर्ता प्रक्रिया शुरु नभएको वडाहरुमा खुम्बुपासाङल्हमू गाउँपालिकामा ४ वटा, लिखुपिके गाउँपालिमा १, सोलुदुधकुण्ड नगरपालिकामा १, नेचासल्यान गाउँपालिकामा ३, थुलुङ दुधकोशी गाउँपालिका २, सोताङ गाउँपालिकामा १, दुधकोशी गाउँपालिकामा २ वटा वडा रहेका छन् ।

यी वडामा पनि छिट्टै दर्ता शुरु गर्ने गरी दर्ता सहयोगीलाई तालिमको आयोजना गर्ने दर्ता अधिकारी बस्नेतले जानकारी दिए । तीन महिनाको अवधिमा जिल्लामा एक हजार ४०६ परिवारले स्वास्थ्य बीमामा नामावली दर्ता गरिसकेका छन् भने ७५६ परिवार पहिलो चरणमा सेवा लिन सक्ने परिवार हुन् ।

दर्ता अधिकारी बस्नेतकाअनुसार हालसम्म सोताङ प्राथमिक स्वास्थ्य केन्द्रमा १९ जना, सल्यान प्राथमिक स्वास्थ्य केन्द्रमा १६ जना, जिल्ला अस्पताल र सामुदायीक आँखा केन्द्र फाप्लुबाट २÷२ जनाले स्वास्थ्य बीमा अन्तरगतको सेवा लिन थालेका छन् । बीमित परिवारका सदस्यहरुले दर्ता कार्डको साथमा जिल्ला अस्पताल फाप्लु, सामुदायिक आँखा केन्द्र फाप्लु, सल्यान र सोताङको प्राथमिक स्वास्थ्य केन्द्र, जिरी अस्पताल, ओखलढुङ्गा सामुदायिक अस्पतालबाट तोकिएको सेवा लिन सकिने व्यवस्था मिलाइएको उनले बताए ।

बीमा गराएबापत आठ लाख ९८ हजार ९२५ रुपैयाँ जम्मा भएको छ । हिमाली जिल्ला सोलुखुम्बुमा स्वास्थ्य बीमा कार्यक्रम ३८ जना दर्ता सहयोगीबाट सञ्चालन भइरहेको र यस बर्ष कुल जनसंख्याको पाँच प्रतिशत व्यक्तिहरुलाई बीमा कार्यक्रममा सहभागि गराउने लक्ष्य रहेको उनको भनाइ छ ।

पाँच जनासम्म सदस्य भएका परिवारले एकमुष्ट दुई हजार पाँच सय रुपैयाँ तिरेर बार्षिक ५० हजार रुपैयाँसम्मको निःशुल्क सेवा तोकिएको स्वास्थ्य संस्थाबाट लिने सक्नेछन् भने ६ जनाभन्दा माथि सदस्य भएका परिवारले प्रतिव्यक्ति ४२५ रुपैयाँका दरले बीमाको प्रिमियम बुझाएर प्रत्येक सदस्य बापत १० हजार रुपैयाँका दरले सेवा थप हुँदै जाँदा बढीमा एक लाख रुपैयाँसम्मको सेवा निःशुल्क रुपमा लिन सक्ने व्यवस्था गरिएको छ । एक पटक बीमा गरेपछि एक बर्ष सम्मका लागि हुनेछ ।