
काठमाडौं, मंसिर २६ । विराटनगर वारियर्सलाई हराउँदै भैरहवा ग्ल्याडिएटर्स एभरेस्ट प्रिमियर लिग (इपीएल) ट्वेन्टी–२० क्रिकेटको शीर्ष स्थानमा उक्लिएको छ ।
बुधबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा शरद भेषावकरको कप्तानीमा रहेको भैरहवाले पारस खड्काको कप्तानीमा रहेको विराटनगरलाई ४ विकेटले हरायो ।
विराटनगरले दिएको ९२ रनको सामान्य चुनौती भैरहवाले खेलमा दुई बल बाँकी छँदा ६ विकेट गुमाएर पूरा गर्यो ।
भैरहवाको जितमा नेदरल्यान्ड्सका खेलाडी रायन टेन डोस्चेटको २० रन तथा भेषावकरको १५ रन महत्वपूर्ण रह्यो ।
यसअघि, टस हारेर पहिले ब्याटिङ गरेको विराटनगरले १८ ओभर ४ बलमा अलआउट हुनुपूर्व ९१ रन जोडेको थियो ।
विराटनगरका लागि नेदरल्यान्ड्सका खेलाडी रोलोफ भान डे मर्वेले २५ रन तथा करण केसीले १८ रन जोडे ।
बलिङतर्फ भैरहवाका मोहम्मद नाभीदले सर्वाधिक ४ विकेट लिए ।
लगातार तेस्रो जितसँगै भैरहवाले अंकतालिकाको शीर्ष स्थानमा उक्लिँदै प्लेअफ चरणमा पुग्ने सम्भावना बलियो पारेको छ ।
विराटनगरको भने तीन खेलमा यो पहिलो हार हो ।
प्रतिक्रिया दिनुहोस्