
प्रदेशसभाको बैठकपछि ६ नम्बर प्रदेशको राजधानी कहाँ भन्ने टुंगो लागेता पनि पूर्वाधारका हिसाबले सुर्खेत सम्पन्न छ ।
प्रदेश नम्बर–६ का सबैजसो जिल्लामा जोडिएको सडक सञ्जाल र हवाई यात्राका हिसाबले पनि सुर्खेत उत्कृष्ट छ ।
हिमाली र पहाडी जिल्लाका लागि पनि क्षेत्रीय सदरमुकामसमेत रहेको सुर्खेत मुख्य व्यापारिक र प्रशासनिक केन्द्र पनि हो ।
देउती–बज्यै, बुलबुले ताल र ‘दोस्रो लुम्बिनी’कारुपमा रहेको काँक्रेविहारको पर्यटकीय गन्तव्यले सुर्खेतलाई अझ विशेष बनाएका छन् ।
शिक्षाका हिसाबले मध्यपश्चिमाञ्चल विश्वविद्यालय र स्वास्थ्यका हिसाबले मध्यपश्चिमाञ्चल क्षेत्रीय अस्पताल सुर्खेतमै भएकाले पनि आवश्यक पूर्वाधारमा कमी छैन ।
क्षेत्रीय सदरमुकामसमेत रहेको सुर्खेतमा प्रादेशिक संरचनाअनुसार आवश्यक पर्ने पूर्वाधार पर्याप्त रहेको भर्खरैमात्र पदभार सम्हालेका प्रदेशप्रमुख दुर्गाकेशर खनालले बताए ।
तर, अन्य प्रदेशको तुलनामा ६ नम्बर प्रदेश पछाडि रहेको उनको दाबी छ । प्रदेशलाई सम्पन्न बनाउन एवं साक्षरता र ‘हुमन रिसर्च’लाई विशेष जोड दिने उनले बताए ।
६ नम्बर प्रदेशका जनताको लामो संघर्ष र बलिदानले प्राप्त यो प्रदेशलाई सबै मिली विकास गर्नुपर्नेमा खनालले जोड दिए ।
शैक्षिक तालिम केन्द्रलाई प्रदेश–६ को संसद भवनकारूपमा प्रयोग गर्न लागिएको छ ।
शैक्षिक विकास केन्द्रको अडिटोरियम हललाई प्रादेशिक संसद भवनका लागि उपयुक्त ठानिएको छ । यहाँ एउटै कम्पाउन्डमा धेरै भवन छन् ।
सभामुख र उपसभामुखकक्ष, संसदीय दलका कार्यालय र कर्मचारीका लागि पर्याप्त भवन रहेका छन् । संसद भवनकारूपमा विकास गर्न तत्कालै मर्मत तथा निर्माणको कामलाई प्राथमिकता दिइएको छ ।
त्यस्तै, क्षेत्रीय प्रशासन कार्यालयलाई मुख्यमन्त्रीको कार्यालय, क्षेत्रीय वन निर्देशनालय तथा तालिम केन्द्रलाई प्रदेशप्रमुखको कार्यालय तोकिएको छ ।
जिल्ला स्वास्थ्य कार्यालयलाई प्रदेश गृह मन्त्रालय र क्षेत्रीय सिँचाइ कार्यालयलाई मन्त्री आवासकारुपमा तोकिएको छ ।
६ नम्बर प्रदेशका लागि ७ ओटा मन्त्रालय, मन्त्री निवास र उच्चस्तरीय कर्मचारीका लागि कर्मचारी आवास भवनसमेत छुट्याएको छ ।
प्रतिक्रिया दिनुहोस्