
एडीलेड, मंसिर २४ । अस्ट्रेलियाको एडीलेडमा खेलिएको पहिलो टेस्ट क्रिकेटमा भारतले अस्ट्रेलियालाई ३१ रनले पराजित गरेको छ ।
अस्ट्रेलियाको घरेलु मैदानमा १० वर्षपछि भारतले टेस्ट जितेको यो पहिलो हो ।
पाँचौं दिन जितका लागि ३२३ रनको लक्ष्य पछ्याएको अस्ट्रेलियाको टोली २९१ रनमा अलआउट भएको थियो ।
भारतको जितमा महत्वपूर्ण आधार तयार गरेका चेतेश्वर पुजारा ‘म्यान अफ दी म्याच’ घोषित भएका थिए ।
भारतका तर्फबाट रविचन्द्रन अश्विन, जसप्रित बुमराह र मोहम्मद सामीले ३/३ विकेट लिएका थिए भने इशान्त शर्माले १ विकेट लिए ।
अस्ट्रेलियाका लागि शन मार्सले ६२ र कप्तान टीम पेनले ४१ रन बनाएका थिए ।
अस्ट्रेलियाका अन्य ब्याट्सम्यानले राम्रो रन बनाउन सकेका थिएनन् । उनीहरु नियमित अन्तरालमा आउट भएका कारण सुरुदेखि नै अस्ट्रेलिया दबाबमा परेको थियो ।
अस्ट्रेलियामा भारतले सन् २००८ मा पर्थस्थित वाका रंगशालामा अन्तिमपटक टेस्ट जितेको थियो ।
एडीलेड मैदानमा भने अस्ट्रेलियाविरुद्ध भारतले सन् २००३ मा अन्तिमपटक टेस्ट जितेको थियो ।
आगामी शुक्रबारदेखि दुवै टीमबीच पर्थमा दोस्रो टेस्ट हुँदैछ । रासस/एएफपी
प्रतिक्रिया दिनुहोस्