५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ : महानिरीक्षक खनाल


0
Shares

काठमाडौं, मंसिर २४ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले बालिका निर्मला पन्तको बलात्कारपछि हत्याको घटनाको अनुसन्धान साँघुरिँदै गएको संसदीय समितिलाई जानकारी दिएका छन् ।

राष्ट्रियसभा, दिगो विकास तथा सुशासन समितिको सोमबारको बैठकमा उनले अनुसन्धानलाई साँघुरो बनाउँदै लगिएको तर निष्कर्ष कहिले आउने भनेर समय तोक्न नसकिने बताए ।

महानिरीक्षक खनालले भने–‘हाम्रो सामथ्र्यले सक्ने काम गरिरहेका छौं । अनुसन्धानलाई प्रभावित पार्ने काम नभइदिएको भए सहज हुन्थ्यो । तर, यो घटनामा कसैको दबाब छैन र कसैको दबाबले अनुसन्धान प्रभावित हुँदैन । प्रमुखकारुपमा कुनै कमजोरी देखिए संसदमा राखेर मेरो बर्दी खोलिदिए हुन्छ ।’

कन्चनपुरकी बालिका पन्तको गत साउन १० गते बलात्कारपछि हत्या भएको घटनाका दोषी पत्ता नलागेको विषयमा आवाज उठिरहेको सन्दर्भमा समितिले सोमबार प्रहरी प्रमुखलाई आमन्त्रण गरेको हो ।

महानिरीक्षक खनालले घटना अनुसन्धानमा गैरव्यावसायिकता प्रदर्शन गरेको देखिएपछि केही प्रहरी अधिकृतलाई बर्खास्त गर्ने काम भइसकेको र अनुसन्धान जारी रहेको बताए ।

उनले अनुसन्धानका लागि नियन्त्रणमा लिइएका केही व्यक्तिको नाम हतारमा दिइएका कारण अनुसन्धानमा कमजोरी भएको आशंका देखिएको उल्लेख गरे ।

महानिरीक्षक खनालले ९७.५ प्रतिशत घटनाको अनुसन्धान भइ कानुनको दायरामा ल्याइएको र जघन्य अपराधका घटनामा सफलता हात पारेको दाबी गरे ।

राष्ट्रविरोधी र अवाञ्छित गतिविधि गर्नेलाई पक्राउ गरी कारबाही गरिएको पनि उनले जानकारी दिए ।

‘कुनै अप्रिय घटना नहुन दिनका लागि सुरक्षालाई दृढताका साथ सबै सतर्कता र सक्रियता अपनाइएको छ । महिला र बालबालिकालाई बाहिर निस्कनै गाह्रो छ भन्ने होइन, सहज परिस्थिति छ’–महानिरीक्षक खनालले भने ।

उनले समग्र शान्ति–सुरक्षा र सुशासनका सम्बन्धमा आफूलेमात्र नभइ गृह मन्त्रालयको नेतृत्वले जवाफ दिँदा उचित हुने बताए ।

समितिका सदस्यले मुलुकका शान्ति–सुरक्षा र सुशासनका क्षेत्रमा देखिएको चुनौतीबारे चिन्ता प्रकट गर्दै कुनै खास घटना विशेषमामात्र नभइ समग्र सुरक्षा र सुशासनमा सरकारकेन्द्रित हुनुपर्नेमा जोड दिए ।

समितिका सदस्यहरुले बलात्कारका घटना वृद्धि हुँदा प्रहरी प्रशासन किन ‘दाँत नभएको कुकुरको टोकाइ’जस्तो कमजोर भयो ? भनी प्रश्न गरेका थिए ।

समितिका सदस्य सरिता प्रसाइँले प्रश्न गर्दै भनिन्–‘जनताले शान्ति र स्थिरताका लागि दुईतिहाइको सरकारसँग गरेको अपेक्षा किन पूरा भएन ? प्रहरीलाई निष्पक्ष छानबिन गर्न केले रोकेको छ ?’

सांसद विमला राई पौडेलले साँचो अपराधी पत्ता नलागेसम्म प्रमाण नस्ट गर्नेलाई थुनामा राखेर कारबाही गर्न र अनुसन्धानको प्रगति विवरण दैनिक सार्वजनिक गर्न माग गरिन् ।

समितिका सदस्य रमेशजंग रायमाझीले व्यवस्था परिवर्तन भएपनि कार्यशैलीमा परिवर्तन नभएको भन्दै घटनामा प्रमाण नस्ट हुनुको पछाडि घटनाको दोषी कोही शक्तिशाली मान्छे छ भन्ने आशंका देखिएको जिकिर गरे ।

उनले सुन तस्करी प्रकरणमा पनि ठूला मान्छेलाई जोगाउने काम भएको आरोप लगाए ।

समितिका सदस्य दीनानाथ शर्माले बालक अपहरण, बालिका बलात्कार र हत्याका घटना वृद्धि हुनुले आफूहरुलाई चिन्तित तुल्याएको जनाउँदै यस्ता घटना हुनुको प्रमुख कारण पहिचान गरेर समाधान गर्नु सबैको चासो र दायित्वकोे विषय भएको बताए ।

सदस्य प्रमिलाकुमारी यादवले सुरक्षा दिन नसक्ने सुरक्षा अधिकारीले राजीनामा दिनुपर्ने बताइन् ।

अर्का सदस्य मुक्ताकुमारी यादवले पछिल्लो समयमा पक्राउ परिएका घटना भएको दिन त्यहाँ नरहेको समाचार आउनुको रहस्य खुलाउन माग गरिन् ।

उनले आफ्नै छोरा २०७४ चैत २ मा धनुषामा धारिलो हतियार प्रहारबाट हत्या गरिएकामा हालसम्म दोषी पत्ता नलागेको गुनासो गरिन् ।

प्रहरी महानिरीक्षकको भनाइ सुनेपछि बैठकले पन्तको घटनामा संलग्न दोषीलाई चाँडो सार्वजनिक गरी कानुनी कारबाहीको दायरामा ल्याउन निर्देशन दिएको छ ।

समितिका सभापति तारादेवी भट्टले मुलुकमा भएका अन्य घटना हुन नदिन अझ सजग र कर्तव्यनिष्ट हुन प्रहरीलाई निर्देशन दिएकी हुन् । रासस