प्रज्ञा तिमल्सिना/राजेन्द्र नापित (इमेज)
काठमाडौं, असार १४ । कक्षा–११ र १२ मा विज्ञान विषय पढ्ने विद्यार्थीले गणित विषय पढ्न नपाउने गरी पाठ्यक्रमको प्रारुप ल्याइएको भन्दै सर्वत्र विरोध भएपछि पाठ्यक्रम विकास केन्द्रले पाठ्यक्रमको प्रारुप परिवर्तन गरेको छ ।
जीवनोपयोगी शिक्षामा गणित विषय लगेर राखेकाले अब विज्ञान पढ्ने विद्यार्थीले गणित विषय पढ्न पाउने व्यवस्था सुनिश्चित गरिएको हो ।
विज्ञान विषय पढ्ने विद्यार्थीले गणित विषय पढ्न पाउने व्यवस्था सुनिश्चित गरेको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ ।
गत जेठ १८ गते राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदबाट पारित गरिएको पाठ्यक्रमको प्रारुप विज्ञान विषय पढ्ने विद्यार्थीले गणित विषय पढ्न नपाउने गरी तयार पारिएको थियो । जसको सर्वत्र विरोध भएपछि पाठ्यक्रम सच्चाइएको हो ।
कक्षा–११ र १२ मा नेपाली, अंग्रेजी, सामाजिक अध्ययन र जीवनोपयोगी शिक्षालाई अनिवार्य गरिएको छ ।
जसमा अब विज्ञान विषय पढ्न चाहने विद्यार्थीले भने जीवनोपयोगी शिक्षाको साटो गणित विषय पढ्न पाउनेछन् ।
नयाँ पाठ्यक्रमको प्रारुपले बायोलोजी र गणितलाई एउटै ऐच्छिक विषयमा राखेको थियो । जसका कारण बायोलोजी पढ्ने विद्यार्थीले गणित पढ्न नपाउने भएका थिए ।
तर, अब भने विज्ञान विषय पढ्न चाहने विद्यार्थीले गणित विषय पढ्न पाउने सुनिश्चित गरिएको पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक कृष्ण काप्रीले जानकारी दिए ।
शिक्षाविद् राजेन्द्रध्वज जोशीले एकपटक परिमार्जन गरिएको पाठ्क्रम १० वर्षसम्म लागू हुने भएकाले विद्यार्थीलाई पढ्नका लागि धेरै विकल्प दिनुपर्ने बताए । विज्ञान विषय पढ्ने विद्यार्थीलाई गणित विषय पढ्न अनिवार्य नै भएको उनले बताए ।
कक्षा–१२ सम्मलाई माध्यामिक शिक्षा बनाइएकाले पनि सरकारले पाठ्यक्रमलाई परिमार्जन गरेको हो ।
कक्षा–११ र १२ मा ३२ ‘क्रेडिट आवर’ दिइएको छ । जसमा अंग्रेजी, सामाजिक र नेपाली विषयलाई तीन क्रेडिट आवर छुटाइएको छ भने जीवनोपयोगी शिक्षा र ऐच्छिक तीन विषयलाई पाँच/पाँच क्रेडिट आवर छुटाइएको छ । सूचना र प्रविधिका लागि दुई क्रेडिट आवर दिइएको छ ।
प्रारम्भिक बालविकास तहदेखि कक्षा–१२ सम्मकै परिमार्जित पाठ्यक्रम आगामी वर्षदेखि लागू गर्ने तयारी गरिएको छ ।
राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्यांकन परिषदबाट पारित भएको पाठ्यक्रमको प्रारुप शिक्षा मन्त्रालयबाट भने स्वीकृत हुन बाँकी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्