२३ जेष्ठ २०८२, शुक्रबार | Fri Jun 6 2025


राष्ट्रियसभा निर्वाचनः प्रदेश–४ मा ८ पदका लागि १२ जनाको मनोनयन दर्ता (नामावली)


0
Shares

बुधबार क्षेत्रीय निर्वाचन कार्यालय पोखरामा मनोनयन दर्ता गर्नेमा नेपाली कांग्रेस, नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चा छन् ।

वाम गठबन्धनका एमाले र माओवादी केन्द्रबाट ६ जनाको उम्मेदवारी परेको छ । कांग्रेसबाट चार र जनमोर्चाबाट दुईजनाको उम्मेदवारी दर्ता गरिएको छ ।

वाम गठबन्धनबाट खुलातर्फ एमालेका गणेशप्रसाद तिमिल्सिना (पर्वत) र माओवादी केन्द्रबाट दीननाथ शर्मा (बागलुङ), महिलातर्फ एमालेकी दीपा गुरुङ (लमजुङ), माओवादी केन्द्रबाट शान्ति अधिकारी (बागलुङ), अपांगता कोटातर्फ रामबहादुर थापा (स्याङ्जा) र दलिततर्फ माओवादी केन्द्रका खिमबहादुर बिक (स्याङ्जा)को उम्मेदवारी परेको छ ।

त्यसैगरी, कांग्रेसबाट खुलातर्फ सुरेन्द्रराज पाण्डे (गोरखा), महिलातर्फ बिन्दादेवी रानामगर (कास्की), अपांगतातर्फ प्रकाश पन्त (तनहुँ) र दलिततर्फ जितबहादुर नेपाली (पर्वत) रहेका छन् ।

राष्ट्रिय जनमोर्चाबाट खुलातर्फ कृष्ण अधिकारी (बागलुङ) र महिलातर्फ मीना पुन (बागलुङ)ले मनोनयन दर्ता गराएका छन् ।

बिहान १० बजेदेखि मनोनयन खुला गरिएको भएपनि दिउँसो २ बजेपछिमात्र दलहरुले उम्मेदवारी दर्ता गराएका थिए ।

जनमोर्चाले सबैभन्दापहिले मनोनयन दर्ता गराएको थियो । त्यसपछि क्रमशः वाम गठबन्धन र कांग्रेसका उम्मेदवारीले मनोनयन दर्ता गराए ।

प्रदेश नम्बर–४ मा प्रदेशसभा सदस्य र गाउँपालिका तथा नगरपालिकाका प्रमुख र उपप्रमुख गरी राष्ट्रियसभा सदस्य निर्वाचनमा २३० जना मतदाता रहेका छन् ।

राष्ट्रियसभा निर्वाचनमा प्रदेशसभा सदस्यको एक मतको मतभार ४८ तथा गाउँपालिका तथा महानगर–उपमहानगर–नगरपालिकाको मतभार १८ रहने व्यवस्था छ ।

जसअनुसार प्रदेश–४ मा कुल १ हजार ४८६ मत हुने मुख्य निर्वाचन अधिकृत दीपेन्द्र अधिकारीले बताए ।

मनोनयन दर्तापछि वाम गठबन्धनका गणेश तिमिल्सिनाले राष्ट्रियसभाको महत्व र गरिमा कायम राख्न आफ्नो उम्मेदवारी दर्ता भएको प्रतिक्रिया दिए ।