२२ असार २०८२, आइतबार | Sun Jul 6 2025


कांग्रेसमा किन उपेक्षा गरिन्छ केशव सिंहहरुलाई ?


0
Shares

-युवराज गौतम/ईमेज:
काठमाडौ, माघ ११ । नेपाली कांग्रेस यतिबेला चुनावी समीक्षा मै केन्द्रीत छ । स्थानीय तह, प्रदेशसभा र प्रतिनिधिसभाको निर्वाचनपछिको परिणामलाई लिएर कांग्रेसभित्र चासो, चिन्ता, आरोप-प्रत्यारोप साथै चुनावी समिक्षा चलिरहेको छ ।

एकथरी युवाहरु कांग्रेसलाई जरैदेखि पुर्नसंरचना गर्नुपर्ने आवाज लिएर पुराना नेताहरुले सक्रिय राजनीतिबाट विश्राम लिनुपर्ने पक्षमा छन् ।

अघिल्लो पुस्ताका नेताहरु अभिभावकका रुपमा बसेर नयाँ पुस्तालाई नेतृत्व हस्तान्तरण गर्नुपर्ने आवाज उठाइरहेका छन् । अर्काथरी युवाहरु भने ‘एज होइन एजेन्डा’ लाई प्राथमिकता दिनुपर्छ भन्ने पक्षमा उभिएका छन् ।

नेतृत्व परिवर्तन देखि कांग्रेसभित्र सुद्धीकरण र सुदृढिकरणको आवाज चर्को रुपमा उठिरहेको छ । पार्टीलाई विधानसम्मत चलाउनु पर्ने तथा नातागोता, अवसरवादी, गुटगत राजनीतिलाई अन्त्य गरिनुपर्ने बहस पनि चलिरहेको छ ।

पार्टीको विधान पालना, संगठनप्रति इमान्दारिता र निर्णयहरुको कार्यान्वयन अनिवार्य नगर्दा कांग्रेस कमजोर हुँदै गएको बहसहरु चिया चौतारीमा चलिरहेको छ ।

पुरानो इतिहास र विरासत, परिवर्तनको संवाहक साथै अनेकौं चुनौतिहरुको सामाना गर्न सक्ने सामथ्र्य राख्ने नेपाली कांग्रेस पार्टीभित्र परम्परागत सोचाइ, पूवाग्रही भावना र गुटगत राजनीतिका कारण केही सक्षम र क्रियासिल युवाहरु अझै नेतृत्वको नजरमा पर्न नसकेको आवाज उठिरहेको छ ।

कांग्रेसभित्रको यस्तो संस्कारलाई युवा नेता लाओस राई नव सामन्तवाद र राणाकालिन सामन्तबादी संस्कारको संज्ञा दिन्छन् ।

‘युवाहरुमा पनि पदीय स्वार्थ मात्र बढ्यो तर जिम्मेवारी बढेन त्यसैले पाकाहरुले मात्र नभई युवाहरु पनि सुध्रिनु पर्छ’ उनी भन्छन् ‘कांगे्रसलाई सुधार्ने नै हो भने व्यवहारिक राजनीति अपरिहार्य छ ।’

सिंगो पार्टीलाई नै चलायमान बनाइरहने नेपाल विद्यार्थी संघको नेतृत्व सम्हालिसकेका पूर्व अध्यक्षहरु पार्टीको दरिलो भूमिकामा देखिदैनन् ।

त्यसबाहेक स्थानीय तह, प्रदेशसभा, प्रतिनिधिसभा र राष्ट्रिय सभाको निर्बाचनमा पनि ती युवाहरुले अवसर पाउन सकेनन् ।

केन्द्रीय समिति बैठकमा दिइएको सुझावहरुलाई नै लत्याएर गरिएको निर्णयले युवा नेताहरुमा निराशा देखिएको छ ।

अवसर नपाएका धेरै विद्यार्थी नेताहरुलाई ‘सेट’ गर्न सफल भएको कांग्रेसले क्षमतावान र क्रियाशिल नयाँ पुस्ताका केही नेताहरुलाई जिम्मेवारी र अवसरबाट बन्चित गरिरहेको छ ।

केशव सिहंको दृढता

कांग्रेस सभापति शेरवहादुर देउवाको गृहजिल्ला डडेल्धुराका केशव सिहं नेवि संघको नेतृत्व सम्हालेको एकदशक यतादेखि कुनै भूमिकामा छैनन् ।

तत्कालिन पार्टी सभापति सुशील कोइरालाले पार्टीको आमन्त्रित केन्द्रीय सदस्यतमा मनोनित गरे पनि उनले प्रभावकारी काम गर्ने अवसर नै पाएनन् ।

पुरानो संस्थापन अर्थात कोइराला क्याम्प भित्रका दरिला नेता सिंहले देउवालाई रिझाउन नसक्नु र आफ्नै क्याम्पकाले पनि अवसर दिलाउन अग्रसर नहुनु उनका लागि दुर्भाग्य बनेको छ ।

नेवि संघको केन्द्रीय अध्यक्ष हुँदा मात्र होइन त्यसपछिका बर्षहरुमा पनि उनलाई डडेल्धुरामा पार्टीले आयोजना गरिने हरेक सार्बजनिक कार्यक्रममा निमन्त्रणा नै गरिएन् । सधैं उपेक्षा गरियो ।

यसको एउटै कारण पार्टीभित्र देखिएको गुटगत राजनीतिको प्रभाव थियो । ‘कोइराला’ र ‘देउवा’ दुई गुटमा विभाजित बनेपछिको केशवको राजनीतिक भविष्य संकटमा पारिएको उनका शुभेच्छुकहरु बताउँछन् ।

नेता सिंह भन्छन, ‘पहिले मेरो क्षमतालाई हेरेर राजनीतिमा ल्याइयो, अहिले अघि बढ्नै नदिने र खुट्टा तान्ने काम मात्र भइरहेको छ ।’

तथापी, पछिल्लो समयमा भएका निर्बाचनहरुमा भने उनलाई जिल्लाका गतिविधिहरुमा समावेश गरिन थालेको छ ।

यद्यपी, राष्ट्रिय सभा सदस्यमा उनको नाम चर्चामा आए पनि त्यसलाई छलफलमा ल्याउने प्रयास गरिएन् । प्रतिनिधिसभा र प्रदेशसभामा त केशवको नाम कसैले उच्चारनै गरेनन् ।

यति हुँदा पनि राजनीतिबाट अलग हुने अवस्थामा आफू नरहेको र जीवन्त सक्रिय रहने उनको प्रण छ । हुनत उनी देउवा विरुद्ध खरो उत्रिने र नेतृत्वलाई गाली गर्ने मनसायमा पनि छैनन् ।

पार्टी भित्रको प्रबृत्ति सुधार्ने, भागबन्डा अन्त्य गर्ने, विधि, विधान र प्रक्रिया अनुसार पार्टी हाँक्नुपर्नेमा उनको सुझाव छ ।

केशव सिंह धेरै मिडियामा आउन नरुचाउने तर कार्यकर्तासँग घुलमिल भइरहने पात्रका रुपमा चिनिन्छन् । पार्टीका सांगठनिक गतिविधिहरुमा प्रायः उपस्थिति जनाइरहने केशव अवसरका लागि दौडिने फूर्सद नभएको स्विकार्छन् ।

‘पद र क्षणिक अवसरका लागि दौडिएकै छैन्, राजनीतिमा बर्षौ व्यतित गरियो, स्वास्थ्य विगारियो अनि करियरलाई नै दाउमा राखेर हिडिरहेको छु,’उनले भने,‘यति बुझ्नुहोस म कांग्रेसको बलियो सिपाइ हुँ ।’

उपेक्षामा गुरु, महेन्द्र र कल्याण

nepali-congress

नेवि संघको केन्द्रीय नेतृत्वको मोर्चा हाकिसकेका मोरङका गुरुराज घिमिरे, बर्दियाका महेन्द्र शर्मा र महोत्तरीका कल्याण गुरुङ पनि पार्टी नेतृत्वको नजरमा हत्तपत्त पर्दैनन् ।

जसको फलस्वरुप अहिले भएको सबै निर्बाचनमा उनीहरुलाई अवसर दिनु त हैन नाम चर्चामा समेत ल्याउन नेतृत्वले चाहेन ।

बैचारिक र सागठनिक रुपमा बलिया मानिने यी तीन पात्र जब्बरजस्त उपेक्षामा पारिएको कतिपय कार्यकर्ताहरुको बुझाइ छ ।

राजनीतिक विश्लेषक शंकर तिवारी नयाँ पुस्तालाई वेवास्ता गरिनु पुरानो लोकतान्त्रिक पार्टीको चरित्र सुहाउँदो नभएको बताउँछन् ।

तिवारी भन्छन्, ‘लोकतान्त्रिक पद्धति, विधि र प्रक्रियाका हिसाबले पनि कांग्रेसले संभावना बोकेका युवालाई जिम्मेवारी सुम्पिनै पर्छ ।’

नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा प्रदेश नम्बर एकबाट केन्द्रीय सदस्यमा विजयी बनेका गुरुराज बैचारिक हिसाबले सक्षम र बौद्धिक नेताका रुपमा चिनिए पनि उनलाई प्रदेशसभा, प्रतिनिधिसभा साथै राष्ट्रियसभामा समेत उम्मेदवार बनाइएन् ।

पार्टीको विभागीय जिम्मेवारी त टाढाको कुरा भयो । मोरङ-४ नम्बरबाट प्रतिनिधिसभा वा प्रदेशसभामा उनलाई उम्मेदवार बनाउने आश्वासन दिइए पनि अन्तमा महेश आचार्यको सक्रियतामा नाम काटिएको थियो । दोस्रो जनआन्दोलनताका ‘राजद्रोह’को मुद्दा झेलेका गुरुलाई कांग्रेसले विर्सिएको छ ।

२०६२ देखि २०६४ सम्म नेवि संघको केन्द्रीय नेतृत्व सम्हालेका महेन्द्र शर्मा बर्दिया क्षेत्र नम्बर १ बाट प्रदेशसभाका लागि दरिला उम्मेदवार थिए ।

तर विजय कुमार गच्छदारका ब्यक्तिलाई सेट गर्ने निहुँमा शर्मा आउट भए । यदि उनलाई टिकट दिएर विजयी भएका भए मुख्यमन्त्रीका लागि उनी तयार थिए ।

प्रतिनिधीसभा निर्बाचनमा महोत्तरी क्षेत्र नम्बर १ बाट पहिलो नम्बरमै सिफारिस भएका कल्याण गुरुङ पार्टी नेतृत्वको शिकारमा परे ।

सुशील कोइराला पार्टी सभापति रहँदा आमन्त्रीत केन्द्रीय सदस्य रहेका गुरुङ निडर बक्ताका रुपमा रहे पनि पार्टीको उपेक्षामा पर्दै आएका छन् ।

युवा पुस्ताका सक्षम नेताहरुलाई केन्द्रीय समितिको म्यान्डेट विपरित उपेक्षा गरिएकोप्रति कांग्रेसीजनमा आक्रोश पैदा गराइदिएको छ ।

तर उपेक्षामा परेका भनिएका युवा नेताहरुमा पनि आन्तरिक कमजोरीका कारण समस्या पर्ने गरेको औंल्याउनेहरु पनि छन् ।

समकालिनको उचाइ

गुरुराज घिमिरे, केशव सिंह, महेन्द्र शर्मा र कल्याण गुरुङका समकालिनहरुले राजनीतिमा निरन्तर उचाइ लिइरहँदा उनीहरु पार्टी पंक्तीबाटै सिधा उपेक्षामा छन् ।

समकालिन मानिने धनराज गुरुङ, गोविन्द भट्टराई, गगन थापा, बद्री पाण्डे, प्रदिप पौडेल, जीवन डंगोल, विजुला बर्माहरुले चर्चा पाउने मात्र नभइ पार्टीबाट अवसर पनि लिइरहेका छन् ।

गगन थापा दुई पटक सांसद हुँदै मन्त्री बन्ने सौभाग्य पाइसकेका छन् । बद्री पाण्डे राष्ट्रिय सभा सदस्यमा छनोट भइसकेका छन् । गोविन्द, प्रदिपहरुले प्रदेशसभाको टिकट पाए ।

नेवि संघका केन्द्रीय सदस्य शुसील भट्ट नयाँ पुस्ताप्रति पार्टी पंक्तीले आफ्नो चरित्र र पुरानो प्रबृत्ति सुधार्नु जरुरी रहेको सुझाव दिन्छन् ।

भट्ट भन्छन, ‘युवा पुस्तालाई पार्टीको जिम्मेवारी नदिने हो भने कांग्रेसको साख बचाउन हम्मे पर्छ र खुम्चिन पुग्छ ।’

नेता निकट र भागबन्डाका आधारमा अवसर दिने कांग्रेसको प्रबृत्ति तत्काल सुधार गर्नुपर्नेमा आवाज उठ्न थालेको छ ।