-ध्रुव भट्टराई/ईमेज
विराटनगर । नेपाल आयल निगमको कार्यालय विराटनगरमा इन्धन ओसारपसार गर्ने ट्यांकर सडकमै पार्किङ गरिँदा दुर्घटनाको जोखिम बढेको छ ।
ट्यांकर पार्किङ गर्ने स्थल नभएपछि सडकमै अव्यवस्थित पार्किङ गरिँदा पैदल यात्रु र अन्य सवारी साधनलाई बढी असहज भएको छ ।
यो दृश्य विराटनगर महानगरपालिकास्थित नेपाल आयल निगमको प्रदेश कार्यालय अगाडिको हो ।
यसरी सडकमा जथाभावी तेलका ट्याङ्कर र ग्यासका बुलेटहरु पार्किङ गर्दा दुर्घटनाको जोखिम बढेको छ ।
सडकमा व्यवस्थित पार्किङ गर्दा अन्य सवारी साधनहरुलाई दुर्घटनाको जोखिम त परेको छ नै त्यसका अलावा पैदल यात्रुलाईसमेत जोखिम बढेको छ ।
हुन त यो समस्या पहिलेदेखिकै हो । पटकपटक जनगुनासो पनि आइरहेकै छ । तर सडक खाली गर्ने योजना योजनामै सीमित भएको छ ।
ट्याङ्करहरुको संख्या ३ सय ९७ रहेको भएपनि आयल निगममा रहेको पार्किङमा ६० देखि ६५ वटा ट्याङ्कर मात्र अट्ने भएकाले सडकमै पार्किङ गर्न बाध्य भएको पेट्रोलियम ढुवानी व्यवसायी संघ प्रदेश नम्बर १ का अध्यक्ष गुणराज निरौलाको गुनासो छ ।
यता आयल निगमको कार्यालयले भने पार्किङका लागि जग्गा व्यवस्थापन गर्न तुरुन्तै कार्यदल बनाएर काम थाल्ने जनाएको छ ।
डिपोको छेउमा जग्गा लिजमा लिएर पार्किङको व्यवस्था गर्न जग्गाको खोजी भइरहेको नेपाल आयल निगमका प्रदेश नम्बर १ प्रमखु दिनेश कुमार यादव बताउँछन् ।









प्रतिक्रिया दिनुहोस्