
काठमाडौं, असार १४ । काष्ठमन्डप पुनःनिर्माणका लागि प्रयोग हुने माटो र इँटाको गुणस्तर परीक्षण गर्न सरकारले परीक्षण केन्द्रमा पठाएको छ ।
आगामी भदौबाट सुरु गरिने पुनः निर्माणमा प्रयोग हुने इँटा र माटो परीक्षणका लागि परीक्षण केन्द्रमा पठाउनाका साथै निर्माणका लागि आवश्यक पर्ने काठ जम्मा गर्ने काम भइरहेको काष्ठमन्डप पुनःनिर्माण समितिका अध्यक्ष राजेश शाक्यले राससलाई जानकारी दिए ।
उनकाअनुसार वि.सं. २०७२ को भूकम्पले पूर्णरुपमा क्षति पुगेको ऐतिहासिक काष्ठमन्डप पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा पनि भइसकेको छ ।
क्षमापूजा कुनै कार्य सुरु गर्नुपूर्व गरिने र निर्माणको अवधिभरि कुनै किसिमको समस्या नआओस् भनेर गरिने पूजा हो ।
परीक्षणमा पठाइएको माटो र इँटाको गुणस्तर मापनबाट आएको नतिजाअनुसार सामग्री संकलन गरी पुनःनिर्माण सुरु गरिने शाक्यले जानकारी दिए । अबको २० दिनमा परीक्षणको नतिजा आउने बताइएको छ ।
बाह्रौं शताब्दीमा राजा लक्ष्मीनरसिंह मल्लले निर्माण गराएको र बिसेत नामका मानिसले कल्पतरुलाई चिनेर नियन्त्रणमा लिइ एउटा रूख उपलब्ध गराउने वाचा गराएर छाडेपछि कल्पतरुले सालको काठ दिएको र त्यसैबाट मूर्तिविहीन मरुसतः बनाइएको र पछि यसैलाई काष्ठमन्डपकारुपमा चिनिन थालिएको हो । मरुसतःमा गोरखनाथ र अन्य मूर्ति थपिएको थियो ।
केही वर्षअघि बेलायतको दुर्हाम विश्वविद्यालयका अनुसन्धानकर्ताले गरेको खोजअनुसार यो सातौं शताब्दीको भएको इतिहासकारले बताएका छन् ।
चार वर्षभित्र निर्माणकार्य सक्नेगरी सातौं शताब्दीको काष्ठमन्डप पुनःनिर्माणको तयारी भएको छ ।
नेपालको राजधानी काठमाडौंको नाम ‘काष्ठमन्डप’बाट नै रहेको इतिहासमा उल्लेख छ । रासस
प्रतिक्रिया दिनुहोस्