काठमाडौं, मंसिर २३ । पछिल्लो समय सेयरबजारमा निरन्तर गिरावट जारी रहेपनि सरकार गम्भीर नभएको भन्दै लगानीकर्ताहरुले नेपाल स्टक एक्सचेन्जको कार्यालयमा अनशन थालेका छन् ।
लगानीकर्ताले खर्बौं गुमाइसक्दासमेत सरकार पटक्कै गम्भीर नबनेको उनीहरुको आरोप छ ।
अहिलेसम्म लगानीकर्ताले १० खर्ब रुपैयाँ बराबर पुँजीबजारबाट गुमाइसकेका छन् ।
अर्थमन्त्री डा. युवराज खतिवडालाई ‘पुँजीबजारविरोधी’को संज्ञा दिँदै उनको राजीनामासमेत माग गर्दै सेयर लगानीकर्ता दबाब समूहले आइतबारदेखि अनशन सुरु गरेको हो ।
सरकारले पुँजीबजारसम्बन्धी धारणा र नीति स्पस्ट पार्नुपर्ने, बजार सुधार तथा विस्तारका लागि तत्काल विशेष कार्यक्रम ल्याउनुपर्ने, अर्थमन्त्री खतिवडाले राजीनामा दिनुपर्ने, पुँजीबजारमैत्री व्यक्तित्वलाई अर्थमन्त्री बनाइनुपर्नेलगायतका १० बुँदे माग राख्दै लगानीकर्ताहरुको स्वतन्त्र समूह अनशनमा बसेको हो ।
गैरआवासीय नेपाली एवं विदेशमा बस्ने नेपालीलाई पुँजीबजारमा ल्याउन बनाइँदै गरेको कार्यविधि तत्काल पूरा गरी चाँडोभन्दा चाँडो लागू गरिनुपर्ने, नेपाल धितोपत्र बोर्डले भनेको ‘मार्केट’ र ‘डिलरसिप’को व्यवस्था गर्नुपर्ने, बैंक खाता र डिम्याट खाता ‘इन्टिग्रेट’ भएको अनलाइन कारोबार प्रणालीको पहुँच तत्काल आमलगानीकर्तामा पुर्याइनुपर्नेलगायतका माग उनीहरुको छ ।
२०७२ साल साउन १२ गते बजार परिसूचक नेप्से १ हजार ८८१ कायम भएकोमा चालू आर्थिक वर्षको पाँचौं महिनामा सेयर १ हजार १०० को विन्दुमा रहेको छ ।
नेपाल स्टक एक्सचेन्जले गत कात्तिक २० गतेबाट अनलाइन कारोबारको पनि सुरुआत गरेको थियो । तर, अनलाइन कारोबार सन्चालनमा पनि विभिन्न समस्या आइरहेको छ ।
माग सम्बोधन नभएसम्म आन्दोलन जारी राख्ने लगानीकर्ताहरुले चेतावनी दिएका छन् ।
यता, नेप्सेले पनि आइतबारबाट लगानीकर्तालाई नै युजर आइडी र पासवर्डसमेत दिएर कारोबार सुरु गरेको छ ।









प्रतिक्रिया दिनुहोस्