
सिमेन्टमा प्रतिबोरा १०० एवं फलामे छडमा प्रतिकिलो १० रुपैयाँ वृद्धिले पुनःनिर्माणको खर्च पनि ह्वात्तै बढेको हो ।
मूल्यवृद्धिले भवन निर्माण एवं पूर्वाधार निर्माणको लागत बढेकोमा सर्वसाधारणले गुनासो गरिरहेका छन् ।
सिमेन्ट र फलामे छडमा भएको अनावश्यक मूल्यवृद्धि न्यूनीकरणमा सरकारले ध्यान नदिएको उपभोक्ताको आरोप छ ।
डेढ महिनाको अवधिमा ५० किलो बोराको मिमेन्टमा १०० ले एवं एक किलो फलामे छडमा १० रुपैयाँले मूल्यवृद्धि भएको व्यापारीको भनाइ छ ।
ढुवानी खर्च बढ्नु, कच्चापदार्थको मूल्यवृद्धि एवं भारतीयले नाकामा कच्चापदार्थको भन्डारणमा रोक लगाउनु नै मूल्यवृद्धिको प्रमुख कारण रहेको उत्पादकहरुको दाबी छ ।
भारतीय बजारमा सिमेन्टको कच्चापदार्थमा प्रयोग हुने किल्ङ्कर, जिप्समलगायतमा मूल्यवृद्धि भएकाले नेपाली बजारमा पनि मूल्यवृद्धि भएको व्यापारीको तर्क छ ।
हाल नेपाली सीमानाका रक्सौलमा भारतीयले किल्ङ्करलाई राख्न प्रतिबन्ध लगाएकाले सीधै ल्याउनुपर्ने बाध्यता रहेको व्यापारीको भनाइ छ । यसले ढुवानी खर्चमा वृद्धि आएको र यातायातको ढुवानी खर्च पनि मूल्यवृद्धिको प्रमुख कारण रहेको उनीहरुको भनाइ छ ।
आपूर्ति व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण विभागले भने सिमेन्ट उद्योगलाई मूल्यवृद्धिमा पुनःविचार गर्न आग्रह गरेको छ ।
यस्तै, मूल्यवृद्धिले पुनःनिर्माणमा सोझै असर गर्ने हुनाले नाफा–घाटा नहेरी मूल्य घटाउन नेपाल सिमेन्ट उत्पादक संघले पनि आग्रह गरेको छ ।
प्रतिक्रिया दिनुहोस्