५ भाद्र २०८२, बिहिबार | Thu Aug 21 2025


गड्डाचौकी नाकाबाट भारत जान लागेका सय महिलाको उद्धार


0
Shares

कञ्चनपुर । पश्चिमी नाका गड्डाचौकीबाट सय महिला तथा बालबालिकाको उद्धार गरिएको छ ।

माइती नेपालका अनुसार एक वर्षको अवधिमा २४ बालक, ७१ बालिका र १०० महिलाको उद्धार गरिएको छ ।

संयोजक महेश्वरी भट्टले सन् २०१८ को अवधिमा माइती नेपालले जिल्लाको पश्चिमी सीमा नाकाबाट भारत जान लागेका बालकबालिका र महिलाको उद्धार गरी घरपरिवारको जिम्मा लगाएको बताइन् ।

उनका अनुसार गड्डाचौकी र दोधाराचाँदनी झोलुङ्गेपुलमा माइती नेपालको सूचना केन्द्रमार्फत उनीहरुको उद्धार गरिएको होे ।

विभिन्न बहानामा दलालले बेच्नका लागि उक्त नाका भएर भारत लाने क्रममा सोधपुछ गरी जोखिममा रहेकाको विश्लेषणपश्चात् घरपरिवारको जिम्मा लगाइएको संयोजक भट्टले बताइन् ।

माइती नेपालको तथ्याङ्कअनुसार ४९ जिल्लाका महिला र बालबालिकाको उक्त नाकाबाट रोकथाम गरिएको छ ।

उद्धार गरिएका जम्मा २०० मध्ये ११२ जना सुदूरपश्चिम प्रदेशकै रहेका छन् । सबैभन्दा बढी कञ्चनपुर र कैलाली तथा सबैभन्दा कम डोटीका छन् ।

कञ्चनपुरका ३७, कैलालीका ३२, अछामका १९, बैतडी र बाजुराका ६/६, डोटी एक, बझाङ दुई, डडेल्धुरा चार र दार्चुलाका पाँच जनालाई उद्धार गरिएको छ ।

एक वर्षको अवधिमा सीमा क्षेत्रबाट सबैभन्दा बढी भारत जान लागेका १६७, इरान १५, किर्गिस्थान ११, अस्टे«लिया चार, पोल्याण्ड, दुबई र कुबेत एक/एक जनाको सीमा क्षेत्रमा बेचिनबाट जोगिएका छन् ।

माइती नेपालले एक वर्षको अवधिमा भारतका विभिन्न स्थानबाट बेचबिखनको जोखिममा रहेका १० जनाको समेत उद्धार गरी घरपरिवारलाई बुझाएको छ ।

भारतका मुख्य शहर पञ्चाब, दिल्ली र मद्रासबाट दुई–दुई तथा हैदरवाद, खटिमा, बैङलोर र पुनाबाट एक–एक जनाको उद्धार गरिएको थियो ।

सो अवधिमा माइती नेपाल कञ्चनपुरमा १५८ हराएकामध्ये २९ जना फेला परेका थिए ।

यसैगरी २३ घरेलु हिंसाका उजुरीमध्ये १७ मिलापत्र, तीन जबर्जस्तीकरणी र दुई मानव बेचबिखनविरुद्ध माइती नेपालमार्फत मुद्दा दायर गरिएका छन् ।

उक्त अवधिमा ३७ हजारलाई सीमा क्षेत्रमा परामर्श सेवासमेत दिएको छ । रासस