Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


झापामा मौरीपालनबाट मनग्य आम्दानी


0
Shares

रवीन भट्टराई/ईमेज

झापा । झापाको शिवसताक्षी नगरपालिकाका महिला मौरीपालनबाट मनग्य आम्दानी गर्न सफल भएका छन् ।

यसअघि घरायसी काममा मात्र सीमित महिलाको जीवन नै मौरीपालन व्यवसायले परिवर्तन गराइदिएको छ ।

केही समय झापा शिवसतासी नगरपालिका ११ की देवी दाहाललाई घरखर्च र छोराछोरीको पढाइ खर्च जुटाउन निकै सकस पथ्र्यो ।

आर्थिक अभावले विक्षिप्त भएकी उनलाई विदेश गएर पैसा कमाउने सोँच पनि आयो तर पछि जसोतसो गरेर उनी मौरीपालन व्यवसायमा लागिन् व्यवसायबाट सफलन हुँदै गएपछि उनले घर जग्गा र गाडी समेत जोड्न सफल भइन् ।

यो प्रयासले उनको जीवन त परिवर्तन भयो नै यसबाट गाउँघरका अरु महिलाहरु पनि लोभिए र उनकै प्रेरणा र सहयोगबाट अहिले गाउँका १ सय ७४ महिला मौरीपालन व्यवासायमा लागि सफल भएका छन् ।

मौरीपालन गरिरहेका महिलालाई तालिम र प्रेरणा समेत दिने गरेको देवी दाहालको भनाइ छ ।

गाउँका महिलाहरुले उत्पादन गरेको मह सहकारी संस्थामार्फत् संकलन गरी बजार सम्म पुर्‍याइन्छ ।

यस सहकारी संस्थाले  वार्षिक २५ हजार किलो मह बिक्री गर्दै आएको  र आगामी वर्ष ५० हजार किलो पुर्‍याउने लक्ष्य लिएको छ ।

मौरीपालनबाट खर्च कटाई बचत समेत हुने गरेकोले महिलाहरु पनि निकै सन्तुष्ट देखिन्छन् ।

मौरीपालन गर्न चाहने महिलालाई उक्त संस्थाले मौरी र घारसमेत उपलब्ध गराएको छ । र शुद्धता परीक्षण गरी उनीहरुबाट मह खरिद गर्दै आएकोले सहज भइरहेको छ ।

सहकारीले खरिद गरेकोे मह पूर्वी नेपालका बजार सहित काठमाडौँ, दाङ, बुटवल लगायतका शहरमा बिक्री हुँदै आएको छ ।

एकजना  महिलाले सुरु गरेको व्यवसायको उत्प्रेरणाबाट  गाउँलेहरु नै व्यावसायिक बन्न सफल भएका छन् ।

यस्ता कदमहरुप्रति सरकारी तबरबाट पनि साथ सहयोग र हौसला दिन भने आवश्यक छ ।