
तर, समयक्रममा जनताको प्रतिरोध आन्दोलनले लोकतन्त्रको स्थापनामात्र भएन, मुलुकमा गणतन्त्रकोसमेत स्थापना भयो ।
२०० वर्ष लामो राजतन्त्रात्मक व्यवस्था ढलेसँगै त्यही राजतन्त्रको स्मरण गराउने राजदरबार परिसरको पूर्वी भागमा गणतन्त्र स्मारक निर्माणको काम लगभग सकिइसकेको छ ।
देशमा गणतन्त्र ल्याउन भएका ऐतिहासिक आन्दोलनकाक्रममा बनेका सहिद, बेपत्ता नागरिक र घाइतेहरुको सम्झनामा यो स्मारक निर्माण गरिएको हो ।
१२ मिटरको उचाइ भएको चारओटा खम्बालाई ‘इलेक्ट्रोनिक बाइन्डिङ’ गरी यो स्मारकको निर्माण गरिएको छ । जसले सहिदको बलिदानी र नेपालको एकतालाई प्रतिविम्बित गर्दछ ।
स्मारक निर्माण गरिरहेको सहरी विकास तथा भवन निर्माण विभागका वरिष्ठ डिभिजन इन्जिनियर मचाकाजी महर्जनकाअनुसार गणतन्त्र स्मारकका चारओटै खम्बाले फरक–फरक विम्ब बोकेका छन् ।
पहिलो खम्बाले गणतन्त्र स्थापनाका लागि जीवनअर्पण गर्ने सहिदहरुको सम्झना दिलाउनेछ भने दोस्रो खम्बाले बेपत्ता पारिएकाहरुको सम्झना गराउनेछ । यस्तै, तेस्रो र चौथो खम्बाले हराएका र अंगभंग भएकाहरुको याद दिलाउनेछन् ।
यी चारैओटा पिलरको बीचमा बनाइएको नेपालको चित्रमाथि विद्युतीय किरण खसालिनेछ । जसले गणतन्त्र स्थापना गर्नका लागि सहिदहरुले बगाएको रगत कतै पनि खेर नगएको सन्देश दिनेछ ।
नारायणहिटी दरबारको कुल ३५ रोपनी जग्गामा ३५ करोड रुपैयाँकै लागतमा गणतन्त्र स्मारकको निर्माण गरिएपनि स्मारक भवन भने २ रोपनी जग्गामामात्र फैलिएको छ । बाँकी रहेको जग्गामा चारैतिर बगैंचा, पोखरी, पानीको फोहोराका साथै त्यहाँ अवलोकन गर्न आउने सर्वसाधारण बस्नका लागि खुला क्षेत्र बनाइएको छ ।
गणतन्त्र स्मारकमा ऐतिहासिक आन्दोलनमा आ–आफ्नो ठाउँबाट भूमिका खेल्नेको योगदान पनि झल्काइनेछ । स्मारकमा कुनैपनि सहिद वा बेपत्ता पारिएका व्यक्तिहरुको तस्वीर भने राखिने छैन ।
२ रोपनी क्षेत्रफलमा बनेको स्मारक भवन जमिनमुनि दुई तला र जमिनमाथि एक तलाको छ । स्मारकको तलको एउटा बेसमेन्टमा ३०३ सिट क्षमता भएको बहुउद्देश्यीय हल र विशिष्ट सभाकक्ष छ भने अर्को बेसमेन्टमा लोकतन्त्रको पुनर्बहालीका लागि प्राणत्याग गर्ने सहिद र ऐतिहासिक कालखन्ड झल्किने तस्वीर तथा ऐतिहासिक दस्तावेज प्रदर्शनीमा राखिनेछ ।
अहिले स्मारक र अन्य संरचनाको निर्माणकार्य लगभग सकिइसकेको छ । केबल फोटो ग्यालरीमा राख्ने तस्वीरहरुमात्र राख्न बाँकी रहेको छ ।
आगामी गणतन्त्र दिवसको अवसरमा गणतन्त्र स्मारकको उद्घाटन गरिने र त्यसलगत्तै अवलोकनका लागि खुला गर्नेगरी व्यवस्थापनको जिम्मेवारी नारायणहिटी संग्रहालयलाई दिने विभागको तयारी रहेको छ ।
प्रतिक्रिया दिनुहोस्