
काठमाडौं, मंसिर २१ । विश्व भ्रमणकाक्रममा नेपाल ल्याइएको रग्बी विश्वकपको ट्रफी शुक्रबार काठमाडौंका विभिन्न सम्पदा क्षेत्रमा प्रदर्शन गरिएको छ ।
बुधबार साँझ नेपाल ल्याइएको रग्बी विश्वकपको ट्रफीलाई बिहीबार संसारकै अग्लो शिखर सगरमाथा आधारशिविर सोलुखुम्बुको कालापत्थर पुर्याइएको थियो ।
नेपाल रग्बी संघको समन्वयमा ट्रफीलाई विश्वसम्पदा क्षेत्रमा सूचीकृत काठमाडौं उपत्यकाका विभिन्न सम्पदा क्षेत्रमा राखिएको हो ।
ट्रफीलाई शुक्रबार स्वयम्भूनाथ, पाटन दरबार क्षेत्र, बौद्धनाथ र पशुपति क्षेत्रमा प्रदर्शनमा राखिएको हो ।
‘ट्रफी टुर’कै अवसर पारेर रग्बी संघले शनिबार काठमाडौंको टुँडिखेलमा रग्बी फेस्टिभल आयोजना गर्दैछ ।
रग्बीको विश्वकप ट्रफी नेपालमा पहिलोपटक ल्याइएको हो । नेपालमा यसअघि विश्वकप फुटबल र विश्वकप क्रिकेटको ट्रफी ल्याइएको थियो ।
रग्बी विश्वकप सन् २०१९ को सेप्टेम्बर २० देखि जापानमा आयोजना हुँदैछ । उक्त विश्वकपमा २० राष्ट्रले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतिक्रिया दिनुहोस्