१८ चैत्र २०७९, शनिबार | Sun Apr 2 2023


चितवनबाट कमल थापाको उद्घोषः हिन्दु राष्ट्र पुनर्स्थापना गरेरै छाड्छौं


0
Shares

चितवन, असार १४ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष कमल थापाले नेपाललाई सनातन हिन्दु राष्ट्र कायम गराउन पार्टीले जनसंर्घषका कार्यक्रम अघि बढाउने बताएका छन् ।

चितवनको भरतपुरमा मिडिया नेपालले गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै अध्यक्ष थापाले जनसंर्घषको पूर्वतयारीका लागि असार २८ गतेबाट हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण अभियान सञ्चालन गर्ने जानकारी दिए । राप्रपाले असार २८ गते काठमाडौंमा हिन्दु राष्ट्रका पक्षधरहरु जम्मा गरि वृहत सभा गर्ने तयारी गरेको जानकारी दिदैं उनले असोज मसान्तसम्म हिन्दुराष्ट्र पुनर्स्थापना जनजागरण अभियान सञ्चालन गर्ने बताए ।

अभियानकै क्रममा राप्रपाबाट फुटेर गएका अन्य शक्तिहरुसँग पनि पार्टी एकता गर्ने उनले जानकारी दिए । ६/६ महिनामा फुट्नका लागि किन पार्टी एकता गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा अध्यक्ष थापाले अब कहिल्यै नफुट्ने गरि सबै तयारीका साथ पार्टी एकता गरिने बताए ।

‘यस पटकको पार्टी एकता हामीले हचुवा र हतारको आधारमा गर्दैनौं, केही व्यक्तिको स्वार्थ परिपुर्तिका लागि पदीय भागवण्डाको आधारमा अबको एकता हुँदैन,’ उनले भने ।

राप्रपा नेपाल र राप्रपा बीच भएको पार्टी एकता गल्ती नभए पनि एकतालाई जोगाउन नसक्नु कमजोरी भएको अध्यक्ष थापाको भनाइ छ ।

केपी ओली नेतृत्वको सरकारका बारेमा टिप्पणी गर्दै अध्यक्ष थापाले सरकारबाट आशा र आशंका दुवै रहेको बताए ।

प्रधानमन्त्री केपी ओलीले हालै गरेको चीन भ्रमण र सहमति अत्यन्तै सकारात्मक भएको टिप्पणी गर्दै उनले दुई तिहाईको दुरुपयोग नगर्न समेत सचेत गराए ।