
तेह्रथुम, ताप्लेजुङ र संखुवासभाको सीमावर्ती यो बजार टिएमजे क्षेत्रकै उत्कृष्ट र आकर्षक गन्तव्य हो । तर गुफाबजार र सँगै रहेको सुके तथा जोरपोखरी बजार क्षेत्रमा खानेपानीको चरम समस्या भएको छ ।
तीनजुरे मिल्के जलजले क्षेत्रको पदयात्रा गर्ने धेरै आन्तरिक पर्यटकहरुको पुग्ने अन्तिम विन्दु हुन् गुफा, सुके र जोरपोखरी बजार ।
तेह्रथुम, संखुवासभा र ताप्लेजुङका सीमावर्ती यी बजारबाट भन्दा माथि गएपछि खाने, बस्ने सुविधा सहितका होटल तथा पसलहरु पाइन्दैनन् ।
एउटै बनमा २८ प्रजातिका गुराँस पाइने भएकै कारण ‘गुराँसको राजधानी’ भनेर चर्चित यो क्षेत्रमा सबैभन्दा बढी पर्यटक पुग्ने स्थल नै गुफाबजार हो ।
तर वर्षेनि पानीका मुहान सुक्दै जाँदा गुफाबजारका बासिन्दालाई खानेपानीको समस्याले सताउन थालेको छ । गुफाबजारसँगै सुके र जोरपोखरी बजारमा समेत खानेपानीको समस्या छ ।
पानीका मुहान सुक्न थालेपछि वर्षेनि पानीको अभाव चुलिदै गएको हो ।
पर्यटकीय यी बजारका बासिन्दा र पर्यटकलाई लक्षित गरी सन् २००० मा गोर्खा वेल्फेयर सर्भिसले होली काँदुरीमार्फत खानेपानी योजना निर्माण गरिदिएको थियो ।
बजार भन्दा करिब चार किलो मिटर तलबाट पम्पिङ गरेर पानी तानी सन्चालित सो खानेपानी योजनाको मुहान नै सुकेपछि अहिले बजारबासीलाई पिउन पानी पाउन मुस्किल पर्ने गरेको छ ।
वर्षामा भरथेग हुने गरेपनि हिउँदभर यी बजारबासीले पानी थाप्न लाइन लाग्नुपर्छ । बजार बीचमा निर्मित पक्की धाराहरु प्रयोगविहीन छन् ।
स्थानीयबासीले विहान र बेलुका पालो मिलाएर पानी थाप्ने गरेका छन् । समुद्री सतहबाट २ हजार ८ सय ९० मिटर उचाईमा रहेको यो क्षेत्रमा पुग्ने पर्यटकलाई पनि पिउने पानीको समस्या हुने गरेको छ ।
टिएमजे क्षेत्रका बन फागुन देखि बैशाख–जेठसम्म गुराँस फुलेर राताम्मे हुन्छन् । त्यसबेला पर्यटकको पनि भीड लाग्ने गर्छ ।
जलवायु परिवर्तनको असर र वढ्दो तापक्रमका कारण उच्च क्षेत्रका पानीका मुहान सुक्न थालेका वातावरणविद् मौषम खनालको भनाइ छ ।
पर्यटकीय रुपमा प्रचुर सम्भावना बोकेको यस क्षेत्रमा खानेपानी, विद्युत लगायत पुर्वाधार निर्माण र बजार विकासमा स्थानीय सरकारको ध्यान जानु जरुरी छ ।
यो क्षेत्रका प्राकृतिक सम्पदाहरुलाई प्रवद्र्धन गरी पर्यटन विकास गर्नसके पर्यटन व्यवसाय नै यहाँका स्थानीयबासीको आम्दानीको दर्बिलो श्रोत बन्न सक्छ ।
प्रतिक्रिया दिनुहोस्