
यद्यपी विद्यार्थी र शिक्षकहरुमा अध्यापन र सिकाईमा वार्षिक प्रणालीको तुलनामा प्रगति देखिएको विभागीय प्रमुखहरुको बुझाइ छ ।
नेपाल विद्यार्थी संघ (नेविसंघ), त्रिभुवन विश्वविद्यालय समितिले मंगलबार किर्तिपुरमा आयोजना गरेको ‘सेमेष्टर प्रणाली कार्यन्वयनका चुनौति र अवसरहरु’ अन्तरक्रिया कार्यक्रममा संघले तयार पारेको प्रतिवेदनमाथि छलफल गर्ने क्रममा उनीहरुले यस्तो धारणा राखेका हुन् ।
नेपाल र एशियाली अनुसन्धान केन्द्र (सीनास्) का कार्यकारी निर्देशक डा। मृगेन्द्रबहादर कार्कीले नेपालको शिक्षा प्रणाली अन्तर्राष्ट्रिय रुपमा समावेश हुँदै गएको जनाए ।
व्यवस्थापन संकायका डीन प्राध्यापक डिल्लीराज शर्माले सेमेष्टर प्रणाली लागू भएपछि विद्यार्थीलाई अनुसन्धानमूलक शिक्षामा केन्द्रीत गराएको जनाए ।
‘सेमेष्टर प्रणाली अन्तर्राष्ट्रिय रुपमा मान्यता प्राप्त प्रणाली भएकोले व्यवस्थापन संकायका सबै निकाय सेमेष्टरमा गइसकेको छ, उनले थपे, ‘स्नातकदेखि पीएचडीसम्म २२ वटा कार्यक्रम सबैमा सेमेष्टर प्रणाली लागू भइसकेको छ, ।’
दुई लाख विद्यार्थी व्यवस्थापन संकायमा यस प्रणालीमा अध्यापनरत छन् । ’ वार्षिक प्रणालीमा शिक्षकले नपढाई र विद्यार्थीले क्याम्पसमा नपुगी नै पास हुने कुराको अन्त्य भएको उनको तर्क थियो ।
विज्ञान संकायका डीन प्रा. रामप्रसाद खतिवडाले देशैभरि सेमेष्टर प्रणाली लागू गर्दा समस्या देखा परेको अनुभव सुनाए ।
कानुन संकायका डीन तारा सापकोटाले सेमेष्टर प्रणाली लागू गर्दा अझै पनि एकरुपता आइनसकेकोले विद्यार्थीहरुलाई अन्य विश्वविद्यालयमा एक्सचेन्ज गर्न नसकिएको उल्लेख गरे ।
सेमेष्टर प्रणाली पीएचडी, एमफील र मास्टर डिग्रीबाट सुरु गरिएको छ । माथिबाट तल लागू गर्दै गएकोले पनि यो प्रणाली लागू हुने क्रममा समस्या देखिएको सापकोटाको तर्क थियो ।
सापकोटाले राज्यले अनुसन्धानमा लगानी नगर्ने, उच्च शिक्षामा पनि लगानी नगर्ने नीतिको शिकार विश्वविद्यालयहरु बनेको टिप्पणी गरे ।
शिक्षा संकाय डीन प्रा. कृष्ण गौतमले सेमेष्टर प्रणालीले विद्यार्थी र शिक्षक दुवैलाई अनुशासित र नियमित बनाएको उल्लेख गरे ।
मानविकी संकायका डिन शिव भुसालले एउटै विश्वविद्यालयमा दुईवटा प्रणाली लागू हुन नसक्ने अवस्था आएकोले देशैभरी त्रिभुवन विश्वविद्यालयमा सेमेष्टर प्रणाली लागू हुँदै गरेका तथ्य पेश गरे ।
सुरुमा समस्याहरु देखिएको भएपनि त्यसमा सुधार हुँदै आएकोले सेमेष्टर प्रणालीलाई लागू गर्न सबै विद्यार्थी संगठनहरुलाई सहयोगी भूमिका खेल्न अनुरोध गरे ।
डीनहरुले शिक्षकको कमी, काठमाडौं उपत्यकावाहिर जान नचाहने सुविधाभोगी शिक्षक, पाठयक्रममा लोड, परीक्षामा ढिलाई, पूर्वाधारमा भवन र कक्षाहरुको व्यवस्थापनमा कमी, कर्मचारीको अभाव, प्रयोशाला (ल्याव)को अभाव, प्राध्यापकहरुको पेन्सन सुविधा नहुनु, शिक्षक तालिम पनि नुहनुजस्ता समस्या रहेको स्वीकारेका थिए ।
सेमेष्टर प्रणालीमा अन्तरक्रियात्मक, अनुसन्धानत्मक, सहमागीयत्मक र ८० प्रतिशत हाजिर हुनुपर्ने व्यवस्था भएकोले थोरै विद्यार्थीलाई धेरै शिक्षकको आवश्यकता हुन्छ तर त्यसको व्यवस्थापन गर्न विश्वविद्यालयले ध्यान दिन नसकेको खतिवडाले जानकारी गराए ।
नेविसंघका महामन्त्री कुन्दन काफ्लेले सेमेष्टर प्रणाली लागू भइसकेकोले यो विषयमा अनविज्ञता प्रकट गर्नु विश्वविद्यालयका प्राध्यापकहरुको गैरजिम्मेवार तरिका भएको ठोकुवा गरे ।
शिक्षा प्रणाली व्यवस्थित र मर्यादित हुनुपर्नेमा उनकोे जोड थियो । विश्वविद्यालयमा प्रमुख राजनीतिक पार्टीको कार्यकर्ता भर्तीे केन्द्र बनाउन दलहरुमा प्रतिस्पर्धा देखिएकोले शैक्षिक क्षेत्र लथालिंग भएको काफ्लेको आरोप थियो ।
सेमेष्टर प्रणालीमा आउन नसकेका विद्यार्थीलाई कुनै न कुनै रुपमा समेट्नुपर्नेमा काफ्लले जोड दिए ।
विद्यार्थीहरुले भने सेमेष्टर प्रणालीमा पनि समयैमै कक्षा संचालन र परीक्षा नहुने गरेको भन्दै प्रश्न उठाएका थिए ।
सेमेष्टर प्रणालीको बारेमा धेरै विद्यार्थीले नबुझेको भन्दै विश्वविद्यालयले परीक्षाको नतिजा नै गल्ती निकाल्ने गरेकोमा थप प्रश्न उठाएका थिए ।
०२८–०३२ सालमा नेपालमा सेमेष्टर प्रणाली लागू भएपनि पञ्चायतले विद्यार्थीलाई नियन्त्रण गर्न खोज्यो भन्ने मान्यतामा ०३६ सालमा भएको विद्यार्थी आन्दोलनको कारण वार्षिक प्रणाली नै लागू भएको थियो ।
नेविसंघ त्रिभुवन विश्वविद्यालय समितिका अध्यक्ष तथा कार्यक्रमका सभाअध्यक्ष हरि आर्चायले विश्वविद्यालय सुधार नगरी देश सुर्धान नसकिने कुरामा जोड दिंदै कार्यक्रमको समापन गरेका थिए ।
प्रतिक्रिया दिनुहोस्