
जिल्ला निर्वाचन कार्यालय सुर्खेतको परिसरमा निर्वाचन सम्पन्न भएको हो ।
प्रदेशसभा सदस्य तथा स्थानीय तहका जनप्रतिनिधिले दुई छुट्टाछुट्टै मतदान केन्द्रमा मत हालेका थिए । ‘क’ र ‘ख’ गरी दुईओटा मतदान केन्द्र रहेका थिए ।
हरियो रङ अंकित ‘क’ मतदान केन्द्रमा ४० जना प्रदेशसभा सदस्य र रातो रङ अंकित ‘ख’ केन्द्रमा स्थानीय तहका प्रमुख, उपप्रमुख/अध्यक्ष, उपाध्यक्ष गरेर १९८ जनाले मतदान गरेको मुख्य निर्वाचन अधिकृत मेदिनीप्रसाद पौडेलले जानकारी दिए ।
‘चुनाव उत्साह र शान्तिपूर्ण तरिकाले भएको छ । दिउँसो ३ बजेसम्म मतदान गर्ने समय भएपनि डेढ घन्टाअघि नै चुनाव सम्पन्न भएको छ । अब ४ बजेदेखि मतगणना सुरु हुन्छ’–मुख्य निर्वाचन अधिकृत पौडेलले भने ।
उनकाअनुसार चुनावमा नेकपा एमालेबाट प्रदेश सांसद २० र स्थानीय तहका जनप्रतिनिधि ५५, नेपाली कांग्रेसका प्रदेश सांसद ६ जना र स्थानीय तहका जनप्रतिनिधि ५१, नेकपा माओवादी केन्द्रका प्रदेश सांसद १३ र स्थानीय तहका जनप्रतिनिधि ५२ तथा राप्रपाका एक प्रदेश सांसदले मतदान गरेका थिए ।
मतदानस्थल जिल्ला निर्वाचन कार्यालय सुर्खेतबाहिर मतदाताभन्दा शुभचिन्तक, समर्थक, कार्यकर्ताको निकै उत्साहपूर्ण सहभागिता रहेको थियो ।
निर्वाचनको मतपरिणाम बिहीबार (भोलि) बिहानसम्म आइपुग्ने मुख्य निर्वाचनको कार्यालयले जनाएको छ । रासस
प्रतिक्रिया दिनुहोस्