२१ जेष्ठ २०८२, बुधबार | Wed Jun 4 2025


राष्ट्रियसभामा प्रदेश–४ बाट को–को भए विजयी ?


0
Shares

राष्ट्रियसभामा प्रदेश–४ बाट खुलातर्फ वाम गठबन्धनबाट पाँचजना र नेपाली कांग्रेसबाट तीनजना निर्वाचित भएका छन् ।

बुधबार भएको मतदानको बुधबारै साँझ सम्पन्न मतगणनाअनुसार वाम गठबन्धनबाट महिलातर्फ एमालेका दीपा गुरुङ १७१६ मत र शान्ति अधिकारी १५१२ मत तथा कांग्रेसकी विन्दादेवी रानामगर २२७४ मत ल्याएर विजयी भएका छन् ।

खुलातर्फ एमालेका गणेश तिमिल्सिना १७८२ मत, माओवादी केन्द्रका दीननाथ शर्मा १५३० मत र कांग्रेसबाट सुरेन्द्रराज पाण्डे २२२६ मत ल्याएर विजयी भए ।

दलित कोटातर्फ माओवादी केन्द्रका खिमबहादुर बिक ३३६० मतसहित निर्वाचित भए ।

अपांगता कोटातर्फ नेपाली कांग्रेसबाट तनहुँका प्रकाश पन्त यसअघि नै निर्विरोध निर्वाचित भइसकेका थिए ।

अपांगता कोटामा वाम गठबन्धनका तर्फबाट एमालेका स्याङजाका रामबहादुर थापाको अपांगता योग्यता नपुगेपछि निर्वाचन आयोगले उनको उम्मेदवारी खारेज गरेपछि कांग्रेसका पन्तको बाटो खुलेको थियो ।

निर्वाचित सदस्यलाई बुधबारै विजयी भएको प्रमाणपत्र प्रदान गरिएको छ ।

 

क्षेत्रीय निर्वाचन कार्यालय पोखराका प्रमुख गंगालाल सुवेदीकाअनुसार मतगणनामा महिला कोटातर्फ ७ मत बदर भएको छ । त्यस्तै, खुलातर्फ ५ र दलिततर्फ ६ मत बदर भएको जनाइएको छ ।

कुल ७ पदका लागि भएको उक्त निर्वाचनमा १० उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।

प्रदेश नम्बर–४ मा कुल २३० मतदातामध्ये २२९ मत खसेको थियो । निर्वाचनमा मनाङबाट निर्वाचित प्रदेश सांसद राजीव गुरुङ (दीपक मनाङे) उपस्थिति भएनन् ।

पोखराको सहिदचोकस्थित लोकसेवा आयोगको परीक्षा भवनमा बुधबार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म मतदान भएको थियो ।

यस प्रदेशका स्थानीय तहमा प्रमुख–उपप्रमुख/अध्यक्ष–उपाध्यक्ष १७० जना र प्रदेशसभा सदस्य ६० जना गरी कुल २३० जना मतदाता रहेका थिए ।