
काठमाडौं, असार १४ । नेपाल वायुसेवा निगमले वाइड बडी विमान भित्र्याएको छ । ‘ए ३३०–२००’ सिरिजको विमान विहीबार बिहान त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको हो ।
नयाँ विमानलाई विमानस्थलमा संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालय र निगमका अधिकारीहरुले स्वागत गरेका थिए । विमानको पूजासमेत गरिएको छ ।
निगमले नयाँ विमानलाई ‘अन्नपूर्ण’ नाम दिएको छ । निगमले युरोपेली कम्पनी एयरबसले उत्पादन गरेको जहाज अमेरिकाको एएआर कम्पनीसँग किनेको हो ।
विमानको लागत २१ अर्ब ९० करोड रूपैयाँ परेको छ । नयाँ जहाजमा विजनेश क्लासका १८ र इकोनोमी क्लासका २ सय ५६ सिट छन् ।
प्रत्येक सिटका अघि टचस्क्रिन सुविधासहितको स्मार्ट इन्फोटेन्मेन्ट सिस्टम राखिएको छ ।
जसमा नेपालीसहित विभिन्न भाषामा राखिएका गीत, संगीत तथा चलचित्र हेर्न सकिने व्यवस्था छ ।
यो विमान लिन नेपाल वायुसेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकार, निगमका कर्पोरेट डाइरेक्टर रविन्द्र श्रेष्ठ र दुईजना नेपाली पाइलट फ्रान्स पुगेका थिए । तर, यो विमानलाई दुईजना विदेशी पाइलटले उडाएर ८ घण्टाको यात्रा तय गर्दै काठमाडौं ल्याएका हुन् ।
निगमले सरकारको जमानीमा सञ्चय कोष र नागरिक लगानी कोषबाट ऋण लिएर दुई वाइड बडी विमान खरिद गर्ने निर्णय गरेको थियो ।
अर्को वाइड बडी विमान पनि एक महिनाभित्रै आइपुग्ने निगमले जनाएको छ ।
निगमले आफ्नो नयाँ विमानलाई दुवई, हङकङ, दोहा, क्वालालाम्पुरलगायतका स्थानमा उडाउने तयारी गरिएको नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारले जानकारी दिए ।
प्रतिक्रिया दिनुहोस्