२० मंसिर २०८१, बिहिबार | Thu Dec 5 2024


अपाङ्गता भएका व्यक्तिले अब सगरमाथा चढ्न पाउने


0
Shares

काठमाडौं । असमान र विभेकारी कानुनका कारण विश्वको सर्बोच्च शिखर सगरमाथा चढ्नबाट बन्चित अपाङ्गता भएका व्यक्तिले अब आरोहण गर्न पाउने भएका छन् ।

कामु प्रधानन्यायाधीश दीपकराज जोशी, न्यायाधीशहरु ओमप्रकाश मिश्र, चोलेन्द्रशम्शेर जवरा, दीपकराज कार्की, केदारप्रसाद चालिसेको संवैधानिक इजलासले अपाङ्गता भएका व्यक्तिले विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण गर्न पाउने फैसला गरेको हो ।

सो फैसलाले अपाङ्गता भएका व्यक्तिलाई सगरमाथा आरोहण गर्न बाटो खुल्ला भएको छ ।

दुवै हात वा दुवै खुट्टा वा दुवै आँखा नदेख्ने व्यक्तिलाई पर्वतारोहण अनुमति नदिने भन्ने पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ नेपालको संविधानको मौलिक हकअन्तर्गत समानताको हकसँग बाँझिएको हुँदा सो नियमावली खोरज भएको फैसलामा उल्लेख छ ।

सर्वोच्च अदालतमा नेपाल पत्रकार महासङ्घका केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईंका तर्फबाट संविधानविद तथा बरिष्ठ अधिबक्ता रेवत प्रसाद खरेलले पर्वतारोहणसम्बन्धी नियमावलीमा अपाङ्गता भएका व्यक्तिले सगरमाथा आरोहण गर्न नपाउने गरी बनाएको नियमावली खारेज गर्न माग गर्दै गत फागुन १४ गते रिट निवेदन दायर गरेका थिए ।

पर्वतारोहणसम्बन्धी नियमावली, २०५९ को नियम ३ को उपनियम २ (क) थप गरी दुवै हात वा दुवै खुट्टा नभएको वा दुवै आँखा नदेख्ने व्यक्तिलाई पर्वतारोहण अनुमति नदिने गरी भएको नियमावली संशोधन तत्काललाई कार्यान्वयन नगर्नु/नगराउनु भनी सर्वोच्च अदालतले गत फागुन २३ गते नेपाल सरकारको नाममा अन्तरिम आदेश जारी गरेको थियो ।

नेपालको संविधानको धारा, १८ को उपधारा, २ मा अपाङ्गता भएको कारणले कानूनको प्रयोगमा विभेद गर्न नपाइने संवैधानिक व्यवस्था हनन भएको, अपाङ्गता भएका व्यक्तिहरुको अधिकारसम्बन्धी महासन्धिमा व्यवस्थाअनुसार बिना भेदभाव सम्मानपूर्वक बाँच्न पाउने अधिकार कुण्ठित गरेको, अपाङ्गता भएका व्यक्तिको आत्म सम्मानमा चोट पुगेको, संविधानको धारा, ४२ ले प्रदान गरेको सामाजिक न्यायको हकमा नै बन्देज गरेको रिट निवेदनमा उल्लेख छ ।

असमान र अधिकारबाट बन्चित गर्ने कानुनले विश्वमा गलत सन्देश गइरहेकाले सर्बोच्चको फैसला नेपाल मात्र होइन विश्वभर नै सकरात्मक सन्देश प्रवाह भएको अपाङ्गता भएका व्यक्ति तथा नेपाल पत्रकार महासंघका केन्द्रीय सदस्य माधवप्रसाद चम्लागाईले बताए

आरोहण गर्न बाटो खुल्ला भएसँगै दुवै आँखा नभएका अमित केसी र दुवै खुट्टा नभएका हरि बुढामगरले सगरमाथा चढ्ने तयारी गरेका छन् । हालै मात्र एक चीनियाँ अपाङ नागरिकले शिखर चुमेर फर्किसकेका छन् ।

अपाङ भएका व्यक्तिहरुलाई ६५ सय मिटर भन्दा माथिको हिमाल चढ्नबाट बन्देज थियो । असमान र अधिकारबाट बन्चित गर्ने कानुनका विरुद्ध लड्न अदालतको ढोकासम्म पुगेर सफलता हासिल गरेकोमा पत्रकार चम्लागाईले खुशी ब्यक्त गरे ।

उनले भने, ‘मेरो सानो प्रयासलाई सर्बोच्च अदालतका जिम्मेवार व्यक्तिहरुबाट भएको पहलकदमीले अत्यन्तै खुशी बनाएको छ, यसले अन्तराष्ट्रिय स्तरमा सकारात्मक सन्देश दिएको छ ।’

करिब डेढ दशकदेखि पत्रकारितामा क्रियाशिल चम्लागाई असाहाय र अपाङता भएका व्यक्तिहरुका निम्ती क्रियाशिल छन् ।

हाम्राकुरा डटकमका कार्यकारी सम्पादक समेत रहेका उनले दायर गरेको यस रिटमाथि सर्बोच्चले सम्मानजनक रुपमा फैसाल गर्नु विश्वका अपाङता भएका व्यक्तिहरुलागि कानुनी सफलता भएको उनले बताए ।