Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


अवसरलाई परिणाममा रुपान्तरण गर्न कोरियाली राजदूतको सुझाव


0
Shares

काठमाडौं, मंसिर १९ । नेपालका लागि दक्षिण कोरियाका राजदूत पाङ योङ सिकले आफूसँग भएको अवसरलाई परिणाममा रुपान्तरण गर्न नेपाललाई सुझाव दिएका छन् ।

नेपाल चेम्बर अफ कमर्सले बुधबार राजधानीमा गरेको कार्यक्रममा राजदूत सिकले नेपालसँग धेरै अवसर भएपनि त्यसको सदुपयोग हुन नसकेको बताए ।

विश्व बैंकले ‘उच्च अवसर क्षेत्र’ भनी छुट्याएको क्षेत्रमा लगानीकेन्द्रित गर्न पनि उनले सुझाव दिए ।

विश्व बैंकले कृषि, व्यापार, सूचना–प्रविधि, पर्यटनलगायतका क्षेत्रलाई उच्च अवसरको क्षेत्र भनेको छ ।

कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले दक्षिण कोरियासँग पनि नेपालको व्यापार घाटा बढ्दै गएको भन्दै पर्यटनका माध्यमबाट व्यापार घाटा पूर्ति गर्नुपर्ने बताए ।

उनले कोरियाली पर्यटक नेपाल भित्र्याउन र नेपाली वस्तु कोरिया निर्यातका लागि सहयोग गर्न राजदूतलाई आग्रह गरे ।

चेम्बर अध्यक्ष राजेशकाजी श्रेष्ठले हाल स्थायी सरकार रहेकाले कोरियाली लगानी भित्र्याउन पहल गर्न राजदूतलाई आग्रह गरे । उनले कोरियाली पर्यटक भित्र्याउन पनि सहयोग गर्न आग्रह गरे ।

काम गरी कोरियाबाट स्वदेश फर्किएका नेपालीले प्रविधि र सीप भित्र्याएको भन्दै त्यसको प्रवर्धन गरिनुपर्नेमा पनि उनले जोड दिए ।

कार्यक्रममा चेम्बर उपाध्यक्ष कमलेश अग्रावाल, होटल संघका महासचिव विनायक शाहले लगानी, व्यापार र पर्यटनमा कार्यपत्र प्रस्तुत् गरेका थिए ।