Logo १७ असार २०८३, बुधबार | Thu Jul 2 2026


विमान खरिदमा अनियमितता हुँदा पनि मन्त्रालय जिम्मेवार नबनेको सांसदहरुको आरोप


0
Shares

काठमाडौं, मंसिर १९ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले नेपाल वायुसेवा निगमलाई कम्पनी मोडलमा सन्चालन गर्ने प्रक्रिया अघि बढाइएको बताएका छन् ।

निगमलाई कम्पनीमा लैजानुपूर्व सम्पत्ति मूल्यांकन गर्नुपर्ने भएकाले त्यसको निर्णय मन्त्रालयले गरिसकेको पनि उनले बताए ।

प्रतिनिधिसभाअन्तर्गत्को सार्वजनिक लेखा समितिको बुधबारको बैठकमा मन्त्री अधिकारीले हालकै अवस्थामा निगम सन्चालन गर्न गाह्रो हुने देखिएकाले कम्पनी मोडलमा लैजान खोजेको बताए ।

उनले निगममा लगानी गर्नेसहितको रणनीतिक साझेदार खोज्न ढिला गर्न नहुने पनि बताए ।

निगमले खरिद गरेको ‘वाइडबडी’ विमानको स्वामित्व निगमकै रहेको समितिलाई जानकारी गराउँदै मन्त्री अधिकारीले विमान खरिदमा भएको भनिएको अनियमितता छानबिन भइरहेको बताए ।

सांसदहरुले भने विमान खरिद प्रकरणमा अनियमितता भएको महालेखापरीक्षकको प्रतिवेदनमा भनिएपनि मन्त्रालयले जिम्मेवारीपूर्वक छानबिन नगरेको भन्दै आपत्ति जनाएका छन् ।

सांसदहरुले निगमलाई हचुवाको भरमा कम्पनी मोडलमा नलैजान पनि मन्त्री अधिकारीको ध्यानाकर्षण गराएका छन् ।

पछिल्लो समय घाटामा रहेको निगमले तत्काल २० अर्ब रुपैयाँ चाहिएको भन्दै सरकार गुहारेको छ ।

अर्थ मन्त्रालयले २० अर्ब दिन नसक्ने भन्दै अन्य विकल्प खोज्न निगमलाई सुझाएको थियो ।

मन्त्री अधिकारीले युरोपेली युनियनले नेपाली विमान कम्पनीहरुलाई लगाएको प्रतिबन्धको औचित्य नरहेको जिकिरसमेत गरे ।