Logo २० चैत्र २०८२, शुक्रबार | Fri Apr 3 2026


इपीएलका लागि लन्डनबाट ल्याइयो ‘चियर्स लिडर्स’


0
Shares

काठमाडौं, मंसिर १९ । यही मंसिर २२ गतेदेखि सुरु हुने एभरेस्ट प्रिमियर लिग (इपीएल) टी–२० क्रिकेट प्रतियोगिताका लागि लन्डनबाट ‘चियर्स लिडर्स’ ल्याइएको छ ।

इपीएल आयोजकले बुधबार एक कार्यक्रम गरेर प्रतियोगितामा सहभागी हुने ६ जना चियर्स लिडर्सलाई सार्वजनिक गरेको हो ।

खेलका दौरान चियर्स लिडर्सले खेलाडी र आमदर्शकलाई मनोरन्जन दिनेछन् ।

आयोजककाअनुसार ६ जना चियर्स लिडर्सलाई दुई टोलीमा विभाजन गरिनेछ ।

मैदानमा रहने टोलीले लिने रन र विकेटमा चियर्स लिडर्सले रोमान्चकता थप्नेछन् । चियर्स लिडर्सले खेलका दौरान चौका, छक्का प्रहार गर्दा र बलरले विकेट लिँदा सांगीतिक धुनसहित आकर्षक नृत्यमार्फत् दर्शकलाई मनोरन्जन दिनेछन् ।

क्रिकेट कप्तान पारस खड्काले पहिलोपटक नेपाली क्रिकेटमा गरिएको प्रयोगले प्रतियोगितामात्र नभएर समग्र नेपाली क्रिकेटको विकास र वृद्धिमा सहयोग पुग्ने विश्वास व्यक्त गरे ।

आगामी पुस ७ गतेसम्म त्रिवि क्रिकेट मैदानमा हुने इपीएलमा ६ टोलीले प्रतिस्पर्धा गर्ने इपीएलका प्रबन्ध निर्देशक आमिर अख्तरले जानकारी दिए ।

प्रतियोगितामा विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, काठमाडौं किंग्स–११, चितवन टाइगर्स, ललितपुर प्याट्रिएट्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितालाई आन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी)ले मान्यतासमेत दिइसकेको छ ।

उद्घाटन खेलमा विराटनगर वारियर्स र ललितपुर प्याट्रिएट्सले खेल्नेछन् । विराटनगर राष्ट्रिय टोलीका कप्तान पारस खड्काको कप्तानीमा तथा ललितपुर राष्ट्रिय टोलीका उपकप्तान ज्ञानेन्द्र मल्लको कप्तानीमा रहेको छ । रासस