
बिराज रोस्यारा (इमेज)
कैलाली, मंसिर १९ । कैलालीको धनगढी उपमहानगरपालिका–१४, फूलबारी–सीगाउँमा सिकार खेल्न गएका एक व्यक्ति मृतावस्थामा फेलापरेका छन् । अर्का एकजना बेपत्ता छन् ।
फूलबारीको हरियाली सामुदायिक वनमा फूलबारी–सीगाउँका राजमोहन चौधरी मृत फेलापरेका हुन् ।
मंगलबार साँझ गाउँनजिकैको सो वनमा जंगली जनावरको सिकार गर्न गएका राजमोहनको बुधबार बिहान कोषमाया तालनजिकै शव फेलापरेको जिल्ला प्रहरी कार्यालय कैलालीका निमित्त प्रमुख प्रहरी नायव उपरीक्षक हरि वलीले जानकारी दिए ।
उनीसँगै सिकार खेल्न गएका हरि चौधरी बेपत्ता भएका छन् । उनको खोजीकार्य भइरहेको निमित्त प्रमुख वलीले बताए ।
स्थानीयकाअनुसार मंगलबार साँझ उक्त जंगलमा बन्दुक पड्किएको आवाज सुनिएको थियो ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्