सागर महत (इमेज)
अर्घाखाँची, मंसिर १९ । अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–६, नरपानीमा ५० युवाहरुले ९ करोड रुपैयाँको लगानीमा रिसोर्ट निर्माण गरेका छन् ।
स्वदेशमा काम नभएको र काम नपाइएको भन्दै हजारौंको संख्यामा विदेशिएका युवालाई सन्देश दिने उद्देश्यले उनीहरुले सुपादेउराली रिसोर्ट खोलेका हुन् ।
प्रदेश नम्बर–५ को पहाडी जिल्लाअन्तर्गत्को अर्घाखाँचीले पर्यटकीय विकासको बलियो सम्भावना बोकेको छ ।
देशको ठूलो युवा जमात विदेशी भूमितिर पलायन भइरहेको अवस्था जगजाहेर छ । धेरैजसोमा यहाँका सम्भावनाको अध्ययन र पहिचान गर्नु त कता हो कता, विदेशमै हुइँकिने संस्कृति विकास भइसकेको छ ।
तर, यस्तै अवस्थाकाबीच पनि कतिपय भने स्वदेशमै केही गर्नुपर्छ भनेर लागिरहेका छन् ।
अर्घाखाँचीको धार्मिक र पर्यटकीय क्षेत्र सुपादेउरालीमा सुपादेउराली रिसोर्ट खोलिएको छ । जसका लागि ५० युवाहरुले ९ करोडको लगानी गरेका छन् ।
मन्दिरमा आउने पर्यटकलाई खाना, बस्नका लागि राम्रो व्यवस्था नहुँदा निकै असुविधा भएकाले जिल्लाकै ठूलो रिसोर्ट निर्माण गरिएको सन्चालकको भनाइ छ ।
कुल २२ रोपनी क्षेत्रफलमा फैलिएको रिसोर्टबाट अग्ला–अग्ला हिमशृंखला र मनमोहक प्राकृतिक दृश्यावलोकन गर्न सकिन्छ ।
करिब २५० जना अट्ने कन्फेक्सनल हल, १०० जना अट्ने क्षमताको रेस्टुरेन्ट भएको रिसोर्ट सुविधासम्पन्न बनाइएको छ ।
रिसोर्टमा स्थानीय अर्गानिक खानासहितका परिकारहरु पाइने होटल सन्चालक प्रेमप्रसाद मरासिनी बताउँछन् ।
स्थानीय युवाहरुको यो सक्रियताले एकातिर सुपादेउराली अवलोकन गर्न आएका पर्यटकहरु सुविधासम्पन्न तरिकाले बस्न पाउनेछन् भने अर्कोतिर यसले अरुहरुलाई पनि स्वदेशमै केही गरौं भन्नेतर्फ उत्प्रेरित गर्न सहयोग गरेको छ ।









प्रतिक्रिया दिनुहोस्