
पार्टी एकता नै गर्ने सन्देश दिँदै चुनावी मैदानमा गएका दुई दलले झन्डै दुई तिहाइ सिट जिते ।
तर, एकीकृत पार्टीको नेतृत्व कसरी गर्ने भन्नेमा समझदारी नबन्दा चुनाव सकिएको दुई महिनासम्म एकता प्रक्रिया अवरुद्ध भएको थियो । यसबीचमा पार्टी एकीकरणबारे विभिन्न टीकाटिप्पणी पनि भए ।
यतिसम्म कि दुई पार्टीबीच एकता प्रक्रिया जटिल बन्दै गएको स्वयं दुई पार्टीकै जिम्मेवार नेताहरुले धारणा राख्ने गरेका थिए ।
तर, सोमबार दुई पार्टीका अध्यक्षबीच भएको एक्ला–एक्लै वार्ताले पार्टी एकतामा नयाँ मोड लिएको छ ।
सोमबार एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच भएको वार्तामा दुवै पक्ष एकार्काले राख्दै आएको अडान छाड्दै अघि बढ्न तयार भएपछि एकताको गाँठो फुकेको हो ।
दुई पार्टीका अध्यक्षबीच पार्टीको नेतृत्व दुवै पार्टीका अध्यक्षले संयुक्तरूपमा गर्नेगरी पार्टी एकताको समझदारी बनेको सार्वजनिक भएको छ ।
दुई पार्टीका अध्यक्षबीच भएको सहमतिले औपचारिक रुप लिए एकीकृत पार्टीको अध्यक्षमा ओली र दाहाल रहनेछन् ।
एकीकृत पार्टीको नाम ‘नेपाल कम्युनिस्ट पार्टी’ राख्ने र पाँच वर्षको अवधिमा सरकारको नेतृत्व दुवै दलका अध्यक्षले आलोपालो गर्ने सहमति भएको सार्वजनिक भएको छ ।
यस्तै, दुई पार्टीका अध्यक्षबीच दुवै पार्टीबीच नमिलेका वैचारिक विषयलाई छलफल चलाउने र महाधिवेशनबाट टुंगो लगाउने समझदारी छ ।
दुई पार्टी एकताका लागि भएको सहमतिलाई पुष्टि गर्दै एमाले उपाध्यक्ष भीम रावलले पार्टी एकता प्रक्रिया सकारात्मक दिशातिर गइरहेको बताए ।
दुई अध्यक्षबीच केन्द्रीय नेतृत्वको विषय टुंगोमा पुगेको भनिएपनि पार्टी एकताका लागि अझै धेरै काम बाँकी छन् ।
माओवादी केन्द्रका नेता रामनारायण बिडारीले दुई पार्टीबीच लामो समयदेखि छलफल जारी रहेकाले समय लागेपनि एकता भएरै छाड्ने दाबी गरे ।
फागुन पहिलो साताभित्र नयाँ सरकार बन्ने भएकाले त्यसअघि नै एकताको खाका टुंग्याउने दुवै दलका अध्यक्षले सहमति गरेका छन् ।
दुवै दलका नेताले पार्टी एकतामा ‘ब्रेक थ्रु’ भएको दाबी गरेकोमात्र नभइ पार्टी एकताका लागि भएको सहमतिलाई लिपिबद्ध गर्नमात्र बाँकी रहेको दावी गरेका छन् ।
प्रतिक्रिया दिनुहोस्