नारायणी लामिछाने र राजेन्द्र नापित (इमेज)
काठमाडौं, मंसिर १८ । प्रधानमन्त्री केपी शर्मा ओलीले निकै तामझामका साथ सुरुआत गरेका विद्युतीय बस डेढ महिनादेखि थन्किएर बसेका छन् ।
एसियाली विकास बैंकको सहयोगमा चीनको एउटा कम्पनीले सहयोगमा दिएका चारओटा विद्युतीय बस उद्घाटनपछि सडकमा नआइ थन्क्याइएको हो ।
गत कात्तिक ६ गते विद्युतीय बसको शुभारम्भ गर्दै प्रधानमन्त्रीले सन् २०२० सम्ममा देशमा कम्तीमा २० प्रतिशत विद्युतीय बस चल्ने घोषणा गरे ।
तर, उद्घाटनको दिन प्रधानमन्त्री ओलीलगायतलाई सिंहदरबार पुर्याएर फर्केका विद्युतीय बस सडकमा देख्न पाइएको छैन ।
साझा यातायातको व्यवस्थापनमा चलाउने भनिएका ती बसहरु ललितपुरको पुल्चोकस्थित साझाको कार्यालयमा नै थन्क्याएर राखिएको छ ।
काठमाडौंमा यी विद्युतीय बसहरु चलाउन रुट परमिट नभएको र अन्य प्राविधिक कारणले गर्दा बस सन्चालन हुन नसकेको साझा यातायातका कार्यकारी निर्देशक भूषण तुलाधरले बताए ।
बस उपलब्ध गराउने चिनियाँ कम्पनी बीवाइडीलाई ‘चार्जिङ स्टेसन’ निर्माणका लागि अनुरोध गरेको र सो कम्पनीले साझा परिसरमै चार्जिङ स्टेसन बनाइदिएपछि बस सन्चालनमा आउने पनि तुलाधरले बताए ।
तर, एसियाली विकास बैंकले यी बसहरु लुुम्बिनी विकास कोषलाई दिएकाले काठमाडौंमा सन्चालन गर्न संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको अनुमति चाहिन्छ ।
चार्जिङ स्टेसन बनेर ती बसहरु कहिलेदेखि चल्छन् ? भन्ने ठोस उत्तर तुलाधरसँग पनि छैन ।
लुम्बिली विकास कोषको नाममा यी विद्युतीय बसहरु रहेकाले बस साझा वा लुम्बिनी विकास कोष कसले चलाउने ? भन्ने टुंगो लाग्न पनि बाँकी नै छ ।









प्रतिक्रिया दिनुहोस्