
काठमाडौं, मंसिर १८ । आगामी आइतबार हुने अन्तरप्रदेश परिषदको बैठकको तयारी पूरा भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा हुने बैठकको तयारी पूरा भएको कार्यालयका सचिव लक्ष्मणप्रसाद मैनालीले जानकारी दिए ।
मुलुक संघीयतामा गइसकेपछि पहिलोपटक संघ र प्रदेशबीच बैठक हुन थालेको हो ।
संविधानको धारा २३४ मा संघ र प्रदेशबीच तथा प्रदेश–प्रदेशबीच उत्पन्न राजनीतिक विवाद समाधान गर्न देहायबमोजिमको एक अन्तरप्रदेश परिषद रहने व्यवस्था रहेको छ ।
प्रधानमन्त्री केपी शर्मा ओली अध्यक्ष रहने परिषदमा गृहमन्त्री रामबहादुर थापा, अर्थमन्त्री डा. युवराज खतिवडा र सातओटै प्रदेशका मुख्यमन्त्री सदस्य रहेका छन् ।
संघ र प्रदेश तथा प्रदेश–प्रदेशबीच देखिएका राजनीतिक विवादलाई समाधान गरिने सचिव मैनालीले जानकारी गराए ।
उनकाअनुसार आइतबार बस्ने बैठकमा परिषदका सदस्यबाहेक संघका सबै मन्त्री, राज्यमन्त्री, महान्यायाधिवक्ता, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष, सबै मन्त्रालयका सचिव र मुख्यमन्त्री कार्यालयका सचिवकोसमेत सहभागिता रहनेछ ।
बैठकमा देखिएका विवादका विषयमा सम्बन्धित सरकारका मन्त्री र सम्बन्धित प्रदेशका मन्त्री तथा विशेषज्ञलाई आमन्त्रण गर्नसक्ने व्यवस्था गरिएको छ । रासस
प्रतिक्रिया दिनुहोस्