
दोलखाको बिगु गाउँपालिका–१ लामाबगरमा निर्माणाधीन ४५६ मेगावाटको आयोजनाले चैतको पहिलो सातासम्म सेयर जारी गर्ने तयारी गरेको हो ।
नेपाल धितोपत्र बोर्डको स्वीकृति आइसकेपछि फागुन अन्तिमदेखि चैतको पहिलो हप्ताभित्र सेयर संकलन गर्ने आन्तरिक तयारी रहेको आयोजनाका प्रवक्ता डा. गणेश न्यौपाने बताउँछन् ।
आयोजनाले दुई करोड ६४ लाख कित्ता सेयर जारी गर्ने तयारी गरेकामा स्थानीयवासीलाई रु एक अर्ब पाँच करोड र अन्य सर्वसाधारणलाई रु एक अर्ब ५८ करोडको सेयर दिने कम्पनीले जनाएको छ ।
‘धितोपत्र बोर्डको स्वीकृति प्राप्त हुनासाथ सेयर निष्कासनको आवश्यक प्रक्रिया अघि बढ्नेछ । प्रभावित क्षेत्रले बढी सेयर पाउने सहमति यसअघि नै भइसकेको’ उल्लेख गर्दै प्रवक्ता डा. न्यौपाने भन्छन्–‘आयोजना निर्माणकाक्रममा भएको असरका दृष्टिले दोलखावासीलाई तीन वर्गमा बाँडेर सोहीअनुसार सेयर लगानीको अवसर दिइनेछ ।’
पूर्वसहमतिअनुसार आयोजनाका मुख्य संरचना रहेको साविकका गाविस लामाबगर र गौरीशंकरका बासिन्दालाई ‘क’ वर्ग, सडकमार्ग र प्रसारणलाइनले छुने क्षेत्रका बासिन्दा ‘ख’ वर्ग र अन्य जिल्लावासीलाई ‘ग’ वर्गमा वर्गीकरण गरिएको छ ।
‘ग’ वर्गमा परेका नागरिकले न्यूनतम् ५० कित्ता र ‘क’ वर्गकाले १५० कित्तासम्म सेयर खरिद गर्नसक्ने आयोजनाले जनाएको छ ।
आयोजनाले यसअघि नै दुई अर्ब ५४ करोड बराबरको सेयर कर्मचारीलाई लक्षित गरी जारी गरिसकेको छ ।
दोलखावासीमध्ये सेयर लगानीका लागि तोकिएको अन्तिम मितिसम्म जन्मदर्ता भएका बालबालिका र विवाह भइ आएका महिलाले विवाह दर्ता प्रमाणपत्रका आधारमा सेयर खरिद गर्न पाउने भएका छन् । त्यसका लागि दोलखा जिल्लावासीले नागरिकताको प्रमाणपत्र अनिवार्य पेस गर्नुपर्नेछ ।
सेयरका लागि जिविसले तीन वर्षअघि संकलन गरेको तथ्यांकअनुसार दोलखाको जनसंख्या दुई लाख ८० हजार ५८४ छ ।
तामाकोसीको लगानी सम्झौता भएको मिति २०६४ माघ १५ गतेभित्र बसाइँ सरी दोलखा आएकाले पनि सेयर खरिद गर्न पाउने व्यवस्था छ ।
स्थानीयवासीले न्यूनतम् ३० कित्ता र अधिकतम् ३०० कित्तासम्म लगानी गर्न पाउने व्यवस्था गर्न लागिएको छ ।
धितोपत्र ऐन २०७३ अनुसार सेयर खरिद–बिक्री गर्नका लागि डिम्याट खाता अनिवार्य भएपनि सबैलाई डिम्याट खाताको जानकारी नभएको र खाता खोल्न समय लाग्ने हुँदा त्यहाँका बासिन्दाका लागि बैंक खातामात्र अनिवार्य गरेर डिम्याट खाता ऐच्छिक गराउन अनुरोध गरेको प्रवक्ता न्यौपानेले बताए ।
उनले जिल्लावासीलाई आफ्नो पायकपर्ने बैंकमा पुगेर बैंक खाता खोल्न समेत आग्रह गरेका छन् ।
माथिल्लो तामाकोसीको सेयर २०७१ को चैतमा खुलेर पछि विभिन्न कारणले रोकिएको थियो ।
भारतीय ठेकेदार कम्पनीको ढिलासुस्तीका कारण आयोजना अझ केही समय पर धकेलिनेसमेत बताइएको छ ।
प्रतिक्रिया दिनुहोस्