
चालू आर्थिक वर्ष २०७४/७५ को ६ महिनासम्म करिब ५ खर्ब रुपैयाँको व्यापार घाटा भएको छ ।
नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा ६ महिनासम्म कुल वस्तु व्यापार घाटा १५.१ प्रतिशतले बढेर ४ खर्ब ९३ अर्ब २ करोड पुगेको जनाइएको छ ।
अघिल्लो वर्षको सोही अवधिमा यस्तो व्यापार घाटा ७४ प्रतिशतले बढेकोे थियो ।
पाँच महिना अर्थात् मंसिर महिनासम्म ३ खर्ब ९७ अर्ब ७९ करोड व्यापार घाटा थियो । एक महिनाको अवधिमा करिब १ खर्ब व्यापार घाटा भएको हो ।
समीक्षा अवधिमा कुल वस्तु आयात १५ प्रतिशतले बढेर ५३४ अर्ब १६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ६७.३ प्रतिशतले बढेको थियो ।
पुस महिनासम्ममा कुल वस्तु निर्यात १३.४ प्रतिशतले वृद्धि भइ ४१ अर्ब १४ करोडमात्रै पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात १४.८ प्रतिशतले वृद्धि भएको थियो ।
समीक्षा अवधिमा भारततर्फ १३.१ प्रतिशत, चीनतर्फ ७०.२ प्रतिशत र अरु मुलुकतर्फ १०.३ प्रतिशतले निर्यात बढेको छ भने भारतबाट भएको आयात १५.३ प्रतिशत, चीनबाट भएको आयात ९.२ प्रतिशत र अरु मुलुकबाट भएको आयात १७.६ प्रतिशतले बढेको केन्द्रीय बैंकले जनाएको छ ।
चालू आर्थिक वर्षको पहिलो ६ महिनासम्ममा उपलब्ध आर्थिक परिसूचकहरुले नेपाली अर्थतन्त्रको मिश्रित प्रगति देखाएको बैंकले जनाएको छ ।
गैरकृषि क्षेत्रको आर्थिक गतिविधिहरुमा अपेक्षाकृत विस्तार भइरहेको छ भने कृषि क्षेत्रको उत्पादन अपेक्षा गरेभन्दा केही कम रहने देखिएको जनाइएको छ ।
बाह्य क्षेत्रतर्फ चालू आर्थिक वर्षको पहिलो ६ महिनामा आयातमा उच्च वृद्धि भएको एवं विप्रेषण आप्रवाहमा केही कमी आएकाले चालू खाता घाटामा वृद्धि भइ ७५ अर्ब ७१ करोड रुपैयाँ पुगेको छ ।
फलस्वरुप, मुलुकको समग्र शोधनान्तर ६ अर्ब ६६ करोडले घाटामा गएको राष्ट्र बैंकले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस्