
स्थानीय क्षेत्रमा सञ्चालित अदुवा प्रशोधन उद्योगले आधुनिक प्रविधी, सरकारी अनुदानसँगै अदुवाका विभिन्न परिकार बनाउँदै बजार विस्तार गरेका छन् ।
अदुवाको निकासीमा समस्या र बजार मूल्यका अभावले किसान निरासीएका बेला अदुवाकै विभिन्न परिकार बनाउने उद्योगीले भने मनग्य आम्दानी गरिरहेका हुन् ।
उनिहरुले अदुवाको क्याण्डी, अचार, मिक्स अचार, तितौरा, सर्बत, चना र सूठो मसला बनाएर लाखौं आम्दानी गर्ने गरेका छन् ।
बर्षेनी अदुवाको मूल्य घट्दै गएको समयमा अदुवाबाट निर्मित परिकारको भने बजार मूल्य बढ्दै गएको हो ।
इलाम नगरपालिका ६ इलामकी उषा निरौलाले घरमै इलाम अदुवा प्रसोधन उद्योग सञ्चालन गरेर बार्षिक ४५ लाखदेखि ५० लाखसम्म कमाई गर्दै आएको बताउँछिन् ।
सूर्योदय नगरपालिका ११ को जनहित कृषि सहकारी संस्था लिमिटेडले पनि दुई बर्ष यता अदुवाको धुलो सूठो मसला बनाउने उद्योग सञ्चालन गरिरहेको छ ।
उद्योगले उत्पादन गरेको सूठो मसलाको अन्तर्राष्ट्रिय बजार राम्रो भएकाले बजारी करणमा सरकारी सहयोग भए राम्रो आम्दानी हुँने उद्योग सञ्चालक बताउँछन् ।
लगानी लक्ष्य अनुसार उत्पादन र आम्दानी गर्न नसके पनि उद्योगले सूठो मसला मात्र स्थानीय बजारमा बिक्री गरेर बार्षिक १० करोड ५० लाख कमाई गरिरहेको छ ।
लगानी अनुसार उद्योगको नगन्य उत्पादन भए पनि अदुवाबाट बन्ने परिकारको बजारीकरण गर्न सकेमा अदुवा उत्पादन गर्ने किसान निरास हुनुपर्ने अवस्था नरहेको उद्योग सञ्चालक गोपाल भट्टराई बताउँछन् ।
सीमित अदुवा प्रशोधन उद्योगले बनाउँने परिकारको उपभोग समय सीमा, आधुनिक प्रविधी, सरकारी ऋण अनुदान अभावका कारण अहिलेको स्थानीय बजारको माग समेत धान्न सकिरहेको छैन ।
प्रशोधन गर्न आवश्यक अदुवाको अभाव नहुने उद्योगलाई व्यवस्थित बनाउन सरकारी उदासिनताले उचित बजारको व्यवस्थापन नहुँदा उद्योग मारमा परेको अदुवा सम्बन्धी जानकार तोयानाथ भट्टराई बताउँछन् ।
नेपालको कुल अदुवा उत्पादनमध्ये ३१ प्रतिशत हिस्सा पूर्वको छ ।
आर्थिक वर्ष २०७३/०७४मा पूर्वमा सबैभन्दा बढी इलाममा ४५ हजार नौ सय ९४ मेट्रिक टन अदुवा उत्पादन भएको जिल्ला कृषि विकास कार्यालयले जनाएको छ ।
जिल्लाका १२ हजार नौ सय ३२ किसान अदुवाको व्यावसायिक खेती गर्छन् ।
अदुवाको मूल्यमा बर्षेनी गिरावट आए पनि गएको वर्षमा किसानले अदुवा बेचेर ९६ करोड ८४ लाख ३६ हजार रुपैयाँ आम्दानी गरेको कार्यालयको तथ्याङ्कमा छ ।
प्रतिक्रिया दिनुहोस्