५ भाद्र २०८२, बिहिबार | Fri Aug 22 2025


अन्तर्राष्ट्रिय अपांगता दिवसः ‘सरकारी नारा नारामै सीमित’


0
Shares

शंकर खनाल र राजेन्द्र नापित (इमेज)

काठमाडौं, मंसिर १७ । ‘मलाई गणना गर, समावेश गर’ भन्ने राष्ट्रिय नाराका साथ सोमबार २७औं अन्तर्राष्ट्रिय अपांगता दिवस मनाइँदैछ ।

तर, नेपालमा पछिल्लो समय नारा दिने र दिवस मनाउनेबाहेक अरु कुनै ठोस काम हुन सकेको छैन । न त सरकारी नाराले शारीरिकरुपले अशक्त भएकाहरुलाई नै छुन सकेको छ ।

सरकारले अपांगता भएका व्यक्तिहरुको समस्या सामधान गर्न विभिन्न योजना अगाडि सारेको भएपनि व्यवहारतः कार्यान्वयनमा आउन सकेको छैन ।

सरकारले अपांगतामैत्री संरचना निर्माण गर्ने र उनीहरुको स्वास्थ्य, शिक्षा, रोजगारीलगायतका समस्यालाई सामाधान गर्ने भने पनि त्यसले खासै छुन सकेको छैन ।

पछिल्लो समयमा विभिन्न कार्यक्रम गरी तामझामका साथ दिवस त मनाइन्छ तर त्यसले अपांगता भएका व्यक्तिहरुको जीवनमा खासै परिवर्तन ल्याउन सकेको छैन ।

राष्ट्रिय अपांग महासंघका अध्यक्ष सुदर्शन सुवेदीले सरकारी नारा नारामै सीमित रहने गरेको गुनासो गरे ।

नेपालमा अपांगता भएका व्यक्तिहरुको संख्या यकिन नभएपनि झन्डै ६ लाखको हाराहारीमा भएको सरकारी तथ्यांक छ ।

तर, महासंघले भने झन्डै ६० लाखको हाराहारीमा अपांगता भएका व्यक्तिहरु भएको दाबी गर्दै आएको छ ।

अहिलेपनि अपांगतामैत्री संरचना निर्माण हुन नसकेको र सरकारले सौतेनी व्यवहार गर्ने गरेको सुवेदी बताउँछन् ।

‘व्यक्तिको सशक्तिकरण तथा समावेशिता र समानताको सुनिश्चितता’ भन्ने अन्तर्राष्ट्रिय नारा लगाइएपनि यसको अनुभूति हुनेगरी नेपालमा काम हुन सकेको छैन ।

अपांगता भएका व्यक्तिहरुको अधिकार विश्वव्यापीरुपमा स्थापित गर्ने प्रयासकाक्रममा सन् १९८१ लाई संयुक्त राष्ट्रसंघले अन्तर्राष्ट्रिय अपांगता वर्षकारुपमा घोषणा गरेको थियो । नेपालले भने सन् २०१३ बाट यो दिवस मनाउन थालेको हो ।

भिडियो हेर्नुहोस्