३१ असार २०८२, मंगलबार | Wed Jul 16 2025


एकीकरणको दिशामा यसरी अग्रसर भए दुई ठूला कम्युनिस्ट पार्टी (भिडियो)


0
Shares

नेकपा एमाले र नेकपा माओवादी केन्द्रले पार्टी एकता गर्ने सहमतिसहित एकताका सातबुँदे आधारपत्रमा हस्ताक्षरसमेत गरेका छन् ।

सहमति अनुसार, पार्टीको नाम नेपाल कम्युनिस्ट पार्टी राखिने छ भने पार्टीको मार्गदर्शक सिद्धान्त मार्क्सवाद लेनिनवाद हुनेछ ।

पार्टी सञ्चालन दुवै पार्टीका अध्यक्षले संयुक्तरुपमा गर्ने सहमति भएपनि आधारपत्रमा भने उल्लेख गरिएको छैन । एमालेले मान्दै गरेको जनताको बहुदलीय जनवाद र माओवादीले शान्ति प्रक्रियापछि आत्मसात गरेको २१औं शताब्दीको जनवादका मूलभूत विषयलाई आत्मसात गर्दै आधारपत्रमा ती कार्यक्रमका बारेमा विधिसम्मत थप छलफल गरी आवश्यक परिपमार्जन र विकास गर्न सकिनेमा पनि उनीहरुले सहमति जनाएका छन् ।

यस्तै, अन्तरिम राजनीतिक प्रतिवेदन एवं विधान तयार गरी सोही अनुसार एकीकृत पार्टी सञ्चालन गर्ने सहमति गरेका दुई दलले आगामी महाधिवेशनलाई समझदारीका साथ एकता महाधिवेशनका रुपमा सम्पन्न गर्ने सहमति पनि गरेका छन् ।

लामो समयदेखि चर्चामा रहे पनि निर्वाचनको मुखमा एक्कासी पार्टी एकता गर्ने सहमतिसहित चुनावी गठबन्धन निर्माण गरेका दुई दलले प्रजातन्त्र दिवसको साइत पारेर गरेको यो सहमतिले पार्टी एकताको ढोकामात्र खोलेको छैन, मुलुकमा राजनीतिक स्थिरताको मार्गसमेत प्रशस्त गरेको छ । अब यस लगत्तै सरकारमा माओवादी सहभागी हुनेछ भने सरकारका नीति कार्यक्रम पनि पाँच वर्षको लागि निर्धक्क भएर ल्याउनसक्ने अवस्था बनेको छ ।

नेपाली कम्युनिष्ट पार्टीहरु टुटफूट र एकताको श्रृंखलामा लामो समयदेखि रुमलिँदै आएका छन् । २००६ सालमा स्थापना भएको नेपाल कम्युनिष्ट पार्टी २०१९ सालको तेस्रो महाधिवेशनसम्म एकै पार्टी थियो । त्यसपछि विभिन्न नाममा विभाजित भयो । पुष्पलाल समूह र चौथो महाधिवेशन समूहको उत्पतिसँगै एमालेले पुष्पलाल समूहलाई अँगाल्यो भने माओवादीले चौथो महाधिवेशन समूहको धार समात्यो ।

बीचमा सशस्त्र संघर्ष र सैद्धान्तिक विषयलाई लिएर कम्युनिष्ट पार्टी अनेक टुक्रामा विभाजित भए । जुट्दै पनि गए र फुट्न पनि छोडेनन् । नयाँ संविधानमार्फत् मुलुक संघीय संरचनामा अभ्यस्त हुन लागेसँगै भएको एकताको यो अर्को प्रक्रियाले ती दुई दललाई मात्र हैन, मुलुककै निम्ति नयाँ अवसर सिर्जना गरेको छ ।

यद्यपि, पार्टी एकताले पूर्णता पाउन र त्यसले परिपक्वता हासिल हुन भने अझै पनि लामै समय लिने छ । र, त्यसक्रममा संगठन सम्मिलन र नेतृत्व व्यवस्थापनलगायतका केही विषयमा ठूलै चुनौतीको सामना पनि गर्नुपर्नेछ ।

भिडियो हेर्नुहोस्