
नेपाल धितोपत्र बोर्डमा दिइएको निवेदनका आधारमा ती बिमा कम्पनीले हकप्रद सेयर बिक्री गर्न लागेका हुन् ।
ती बिमा कम्पनीले कुल रु ६ अर्ब ८५ करोड ६४ लाख ४१ हजार मूल्य बराबरको हकप्रद सेयर बिक्रीका लागि आवेदन दिएको बोर्डले जनाएको छ ।
आवेदन दिनेमा सूर्या लाइफ इस्योरेन्सको २८ लाख ८७ हजार ५०० कित्ता हकप्रद सेयर रु २८ करोड ८७ लाख ७५ हजार मूल्यमा बिक्री गर्न लागिएको हो । सो कम्पनीले १० बराबर चार कित्ताको दरमा हकप्रद सेयर दिन लागेको छ ।
एनआइसी एसिया क्यापिटल बिक्री प्रबन्धक रहेको सूर्या लाइफले आर्थिक वर्ष २०७२/७३ मा पाँच प्रतिशतमात्रै बोनस प्रदान गरेको थियो ।
यस्तै, सिद्धार्थ इन्स्योरेन्सले २२ लाख ४४ हजार ९७३ कित्ता हकप्रद सेयर बिक्री गर्न लागेको छ । सो कम्पनीले रु २२ करोड ४४ लाख ९७ हजार बराबरको हकप्रद सेयर बिक्री गर्न लागेको हो ।
सो कम्पनीको बिक्री प्रबन्धकमा एनएमबी क्यापिटल रहेको छ । १० कित्ता सेयर बराबर ३.५ कित्ता हकप्रद दिन लागेको कम्पनीले जनाएको छ । सो बिमा कम्पनीले आव २०७३/७४ मा २० प्रतिशत बोनस दिन सफल भएको थियो ।
यस्तै, गुराँस लाइफ इन्स्योरेन्सले २९ लाख ७० हजार कित्ता हकप्रद सेयर रु २९ करोड ७० लाखमा बिक्री गर्न लागेको हो । सो कम्पनीको सेयर बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल मार्केट रहेको छ ।
कम्पनीले आव २०७२/७३ मा ८ प्रतिशत बोनस उपलब्ध गराएको थियो । कम्पनीले दुई बराबर एक कित्ता हुनेगरी हकप्रद दिन लागेको हो ।
यसैगरी, एभरेस्ट इन्स्योरेन्स कम्पनीले ७२ लाख ९० हजार कित्ता हकप्रद सेयर रु ७२ करोड ९० लाखमा बिक्री गर्न लागेको हो । हकप्रद सेयरको बिक्री प्रबन्धकमा सिद्धार्थ क्यापिटल रहेको छ । एभरेस्टले आव २०७२/७३ मा २० प्रतिशत बोनस उपलब्ध गराएको थियो ।
हकप्रद सेयर बिक्री गर्न लागेको अर्को बिमा कम्पनी हो, नेसनल लाइफ इन्स्योरेन्स कम्पनी ।
सो कम्पनीले ९९ लाख ३६ हजार ४७७ कित्ता हकप्रद सेयर रु ९९ करोड ३६ लाख ४७ हजारमा बिक्री गर्न लागेको छ । बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ । कम्पनीले आव २०७३/७४ मा २५ प्रतिशत बोनस उपलब्ध गराएको छ ।
हकप्रद सेयर बिक्रीका लागि बोर्डमा आवेदन दिएको अर्को बिमा कम्पनी हो, नेपाल इन्स्योरेन्स ।
सो कम्पनीले ३० लाख १९ हजार ८८६ कित्ता हकप्रद सेयर रु चार अर्ब ३२ करोड ३५ लाख ४६ हजार मूल्यमा बिक्री गर्न लागेको छ । कम्पनीले आव २०७१/७२ मा ९.४७ प्रतिशत बोनस प्रदान गरेको थियो । सो कम्पनीको हकप्रद सेयर बिक्री प्रबन्धकमा एनआइबीएल क्यापिटल रहेको छ ।
नेपाल स्टक एक्स्चेन्जमा हाल २२ बिमा कम्पनीको सेयर सूचीकृत रहेको छ ।
१५ कम्पनीकोमात्रै वित्तीय विवरण सार्वजनिक
चालू आवकोे पुस मसान्तसम्म १५ बिमा कम्पनीलेमात्रै आफ्नो वित्तीय विवरण सार्वजनिक गरेका छन् । १७ ओटा निर्जीवन बिमा कम्पनीमध्ये १५ ओटाले आफ्नो दोस्रो त्रैमासिक प्रतिवेदन प्रकाशित गरेका हुन् ।
समीक्षा अवधिमा १५ बिमा कम्पनीमध्ये सबैभन्दा बढी नाफा कमाउनेमा राष्ट्रिय बिमा कम्पनी रहेको छ । सो अवधिमा कम्पनीले रु ३७ करोड २५ लाख नाफा कमाएको छ ।
सो अवधिमा शिखर इन्स्योरेन्सले रु १९ करोड ६६ लाख नाफा कमाएको छ । उक्त अवधिसम्म रु ८६ करोड ५९ लाख खुद बिमा शुल्क आर्जन गरेको कम्पनीले रु ३५ करोड ८४ लाख बराबरको बिमा दाबी भुक्तानी गरेको छ ।
सबैभन्दा कम खुद नाफा कमाउने बिमा कम्पनीमा एभरेस्ट रहेको छ । एभरेस्टले पुस मसान्तसम्ममा रु दुई करोड ३७ लाख नाफा गर्न सकेको छ ।
प्रतिक्रिया दिनुहोस्