
नवलपरासी, फागुन ९ । पश्चिम नवलपरासीका उखु किसानले सरकारी अनुगमन टोलीका कर्मचारीले ठगी गर्ने चिनी उद्योग र तौल केन्द्र सञ्चालकलाई उन्मुक्ति दिएको आरोप लगाएका छन् ।
विभिन्न स्थानमा तौल केन्द्र राखेर किसानलाई ठगी गरेको भन्दै रंगे हात पक्राउ परेका चिनी उद्योगका कर्मचारीलाई सरकारी अनुगमन टोलीले उन्मुक्ति दिएको आरोप किसानले लगाएका हुन् ।
बेलाटारीमा भएको किसानहरुको भेलाले ठगीमा संलग्न रहेकाहरुलाई उन्मुक्ति दिने अनुगमन टोलीका सदस्यविरुद्ध अख्तियारमा उजुरी दिने निर्णय गरेको छ ।
उखु उत्पादक कृषक समितिका जिल्ला अध्यक्ष उमेश यादवले अख्तियारमा उजुरी दिने निर्णय भएको जानकारी दिए ।
१५ दिनअघि किसानहरुको उखुमा ठगी गरेको भन्दै जिल्ला प्रशासनसहित घरेलु तथा साना उद्योग कार्यालय, गुणस्तर तथा नाप तौल क्षेत्रीय कार्यालय बुटवलको टोलीले तौल केन्द्रहरुको अनुगमन गरेको थियो ।
अनुगमनका क्रममा इन्दिरा चिनी उद्योग र बाग्मती चिनी उद्योगसहित सरावल–७ भूजहवास्थित कृष्णमुरारी कुशवहाको नाउँमा रहेको कालिका उखु खरिद बिक्री केन्द्रले उखु तौलमा ठगी गरेको पाइएपछि शील गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस्