सप्तरीका बाढीपीडित १८ परिवारले पाए नयाँ घर (भिडियो) • Image Khabar Image Khabar


सप्तरीका बाढीपीडित १८ परिवारले पाए नयाँ घर (भिडियो)


Imagekhabar
९ फाल्गुन २०७४, बुधबार १६:१६

सप्तरीका बाढीपीडित १८ परिवारले पाए नयाँ घर (भिडियो)

सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल तथा ‘एसिया कन्फरेन्स अफ रिलिजन फर पिस’ले तिरहुतका बाढीपीडित १८ परिवारलाई नयाँ घर निर्माण गरी हस्तान्तरण गरेको हो ।

गत वर्ष आएको बाढीले घरबारविहीन भएका सप्तरी, तिरहुत गाउँपालिकाका बाढीपीडितहरुको मुहारमा अहिले खुसियाली छाएको छ ।

बाढीले घरबारविहीन भएकाहरुलाई सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल तथा एसिया कन्फरेन्स अफ रिलिजन फर पिसले सहयोग गरेर १८ घर निर्माण गरी हस्तान्तरण गरेपछि उनीहरुको मुहारमा खुसियाली छाएको हो ।

गाउँपालिकाका १८ बाढीपीडित असहाय परिवारलाई गत आइतबार एक कार्यक्रमको आयोजना गरी नयाँ घर हस्तान्तरण गरिएको हो ।

सहयोगी संस्थाका मासामिचि कामियाँ, दीपिका सिंह र लोकमान्य गोल्छाले नयाँ घरको साँचो स्थानीयलाई हस्तान्तरण गरेका थिए ।

चिसो मौसममा टहरामुनिको बास कस्टकर भइरहेका बेला सामाजिक संस्थाको पहलमा नयाँ घर पाउँदा निकै खुुसी र उत्साहित भएको पीडितहरु बताउँछन् ।

गत साउनमा आएको बाढीबाट तिरहुत गाउँपालिकाका वडा नम्बर–१, २ र ५ का १८ परिवारको उठिवास भएको थियो ।

स्थानीय सर्वोदय नेपाल नामक संस्थाको पहलमा धर्म शान्ति नेपाल (आरएफपी) तथा एसियन कन्फरेन्स अफ रिलिजन फर पिस (एसआरपी)ले एक महिना लगाएर नयाँ घर बनाएर पीडितहरुलाई हस्तान्तरण गरेका हुन् ।

सिमेन्ट प्लास्टर भएको बरान्डा, काठ, बाँस र टिनको छानाबाट निर्माण गरिएका घर २० फिट लम्बाइ र १८ फिट चौडाइका रहेका छन् ।

प्रत्येक घर निर्माणमा १ लाख ८६ हजार रुपैयाँ खर्च भएको सर्वोदय नेपालले जनाएको छ ।

धर्म शान्ति नेपालको २५औं स्थापना दिवसको अवसरमा बोल्दै संस्थाकी अध्यक्ष इन्दिरा मानन्धरले बाढीपीडित परिवारलाई घर हस्तान्तरण गरेपछि उनीहरुले राहत महसुस गरेको बताइन् ।

उनले आफ्नो संस्थाले भूकम्प र बाढीपीडित परिवारका लागि सहयोग गरिरहेको जानकारी दिइन् ।

उनले काठमाडौंको इचंगु, रामकोट र नुवाकोटको ओखरपौवाका भूकम्पपीडितलाई राहत वितरण गरिएको र सिन्धुपाल्चोकका पीडितलाई शौचालय निर्माणमासमेत सहयोग गरेको बताइन् ।

भूकम्प र बाढीपहिरोपीडितका लागि सरकारले राहत घोषणा गरेपनि कतिपय पीडितहरुले त्यो नपाएको गुनासो गरिरहेका छन् । पुनःनिर्माणको काम त झन् सुस्तगतिमा भइरहेको छ ।

तर, सामाजिक संस्थाहरुले सप्तरीका बाढीपीडितका लागि गरेको यो एउटा पहल सरकारका लागिसमेत उदाहरणीय बन्नसक्छ ।

भिडियो हेर्नुहोस्

प्रतिक्रिया दिनुहोस्