२९ असार २०८२, आइतबार | Sun Jul 13 2025


आठ वर्षदेखि अलपत्र तमोर नदीको मोटरेबल पुल निर्माणले बल्ल गति लियो


0
Shares

सम्झौताअनुसार ठेकेदार कम्पनीले समयमा काम नगर्दा आठ वर्षदेखि अलपत्र अवस्थामा रहेको उक्त पुलको निर्माण कार्य अहिले तीव्रता पाएको हो ।

टेका लगाएर पुल जडान गर्ने कार्य भइरहेको छ । अहिलेसम्म करिब ७० प्रतिशत काम पूरा भएको छ भने बाँकी ३० प्रतिशत काम यो महिनाभित्रै सम्पन्न हुने निर्माणमा संलग्न हुलास कम्पनीका इन्जिनियर सुशील साहले जानकारी दिए ।

उनका अनुसार गएको माघ ४ गतेदेखि २५ जना कामदारले टेका लगाएर पुल जडान गरिरहेका छन् । जडानको कार्य सकिएपछि कन्काई मैनाचुली याक्थुङ्हाङले ढलाइको काम शुरु गर्ने जनाइएको छ ।

अढाइ वर्षभित्रै निर्माण सम्पन्न गर्ने गरी २०६६ सालमा कन्काई, मैनाचुली र याक्थुङ्हाङ गरी तीन वटा निर्माण कम्पनीले सडक डिभिजन कार्यालय इलामसँग करिब रु १० करोडको लागतमा पुलको निर्माण सम्झौता गरेका थिए ।

निर्माण सम्झौता भएको पाँच वर्षपछि बल्ल वर्षातको समयमा काम थालिएकाले निर्माणकै क्रममा दुई वर्षअघि बाढीले पुल बगाएको थियो । बाढीले पुल बगाएर अझ निर्माण कार्य अलपत्र बनेपछि स्थानीयवासी, राजनीतिक दललगायतले चाँडो काम थाल्न दबाब दिएका थिए ।

तमोर करिडोरअन्तर्गत पर्ने यो पुल समयमा निर्माण नहुँदा जिल्लाका दुई निर्वाचन क्षेत्र सडक सञ्जालले जोडिन सकेका छैनन् । पुल बन्ने आशामा तमोरपारिका आधा दर्जन गाउँमा कच्ची सडक निर्माण गरिए पनि पुल नै नबनेपछि ती क्षेत्रमा सवारी साधन चल्न सकेका छैनन् भने त्यस क्षेत्रको विकासले समेत गति लिन सकेको छैन ।

अहिले दोभान बजारको वारिसम्म बस, ट्याक्सी, मालबाहकलगायतका सवारी साधन पुग्छन् । तर पुल नभएकाले त्यहाँसम्म गाडीमा पुगेका यात्रुलाई ओर्लेर कच्ची सडकमा हिँड्नु पर्ने बाध्यता छ भने महँगो मूल्य तिरेर सामान ढुवानी गराउनु पर्ने समस्या छ । (रासस)