
काठमाडौं, असार १३ । नेपाल सरकारका पूर्वसचिव भीमप्रसाद उपाध्यायले चीन र भारतबाट काठमाडौं आउने रेलका विषयमा राजनीतिकरुपमा चर्चा भएपनि इन्जिनियरिङ र आर्थिकरुपमा चर्चा नभएको टिप्पणी गरेका छन् ।
रेल ल्याउने कुरा अहिले राजनीतिकरुपमा धेरै बहस भएको तर त्यसका आर्थिक पाटाकाबारेमा पनि बहस तथा चर्चा हुनुपर्नेमा उनले जोड दिएका छन् ।
बुधबार राजधानीमा आयोजित साक्षात्कार कार्यक्रममा उनले चीन र भारत दुवै देशको ‘बोर्डर’बाट अर्थात् चीनको केरुङबाट काठमाडौं पनि १०० किलोमिटर नै र भारतको रक्सौलबाट काठमाडौं आउन पनि १०० किलोमिटर नै लाग्ने तर भौगोलिक विकटताको हिसाबले चीनबाट काठमाडौं आउने रेलका लागि अलिक बढी कठिनाइ रहेको बताए ।
तर पनि काम गराइको गतिको हिसाबले हेर्दा भने चीन विश्वमै अघि रहेकाले काम सुरु भयो भने चीनबाट काठमाडौं रेल चाँडो आउने उनको तर्क छ ।
नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष किशोर प्रधानले भारत र चीन दुवै देशबाट रेल ल्याउनेबारे समझदारी भएकाले कुन पहिले आउँछ भन्ने कुरा आफूहरुमै भरपर्ने बताए ।
आफूहरु देशमा प्रशस्तै लगानी आओस् भन्ने पक्षमा रहेको बताउँदै प्रधानले प्रधानमन्त्री केपी शर्मा ओलीको मुलुक समृद्ध बनाउने सपना पूरा गर्न सरकारलाई हरेक काममा सहयोग गर्न निजी क्षेत्र सधैं तयार रहेको पनि उल्लेख गरे ।
यस्तै, इन्जिनियरिङ एसोसिएसनका अध्यक्ष हरेराम श्रेष्ठले चीनबाट रेल आउने कुरा आर्थिक हिसाबले पनि पनि सम्भव रहेको बताए ।
प्रतिक्रिया दिनुहोस्